कुलेखानी-काठमाडौं सडक आजदेखि एक महीना बन्द
कुलेखानी-काठमाडौं सडक मर्मतसम्भारका लागि एक महीना बन्द गरिने लागेको छ। आजैदेखि सडक बन्द हुने बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मत गर्न शनिबारदेखि आगामी २८ वैशाखसम्म सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरिएको छ।
कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौंको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले बताए।
दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालन हुने उनकाे भनाइ छ। निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसायी, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको शुक्रबार बसेको संयुक्त बैठकले हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो।
दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र गरिनेछ। त्यसका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ।