कांग्रेसले थाल्यो सरकार गठनको औपचारिक पहल, जसपाले माग्यो समय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा औपचारिक छलफल थालेका छन्।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा शुक्रबार नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई बोलाएर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोगकाे आग्रह गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक हप्तापछि कांग्रेसले औपचारिक बैठक बोलाएको हो। तीनै दलका नेताहरूले धारणा राखे पनि बैठक कुनै निष्कर्षमा भने पुगेन।
माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरू कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार रहेको बताए। बैठकबारे जानकारी दिंदै उनले भने, “हामी ओलीजीको विकल्पमा सरकार बनाउन चाहन्छौं, तर बहुमतको सरकार नबन्ने भए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भन्ने कुरा बैठकमा राख्यौं।”
जसपाका नेताहरूले भने सत्ता गठबन्धनको विषयमा निर्णय गर्न थप समय चाहिएको धारणा राखेका थिए। जसपा अध्यक्ष महन्थ ठाकुरले भने, “तपाईँलेहरूले पहिलो पटक सरकार गठनको विषयमा औपचारिक प्रस्ताव राख्नुभयो, हाम्रो सम्बोधन नगरी नहुने माग छन्, त्यसपछि विचार गरौंला भन्यौं।”
सांसद रेशम चौधरी लगायतको रिहाइको विषयमा देउवाले आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको अध्यक्ष ठाकुरले बैठकपछि जानकारी दिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठनका लागि छलफल गर्न आयोजित बैठक सकारात्मक र हार्दिकतापूर्वक सम्पन्न भएको बताए। “जसपाले केही दिन लगाएर निर्णय गरौं भनेको छ,” शर्माले भने, “प्रक्रिया शुरू गर्ने गरी तुरुन्तै अर्को बैठकमा बस्छौं।”
बैठकमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजय गच्छेदार, शशांक कोइराला, कृष्ण सिटौला लगायत सहभागी थिए।
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता श्रेष्ठ र जसपाबाट अध्यक्ष ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायत सहभागी थिए।