सांसद पद गुमाएका चारै नेता फेरि मन्त्री
सांसद पद गुमाएका चार जना नेता फेरि मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई आजै पद तथा गाेपनीयताकाे शपथ गराइने भएकाे छ।
नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद बिहीबार खारेज गरिएको थियो। सांसद पद गएसँगै उनीहरूको मन्त्री पद पनि स्वतः गुमेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई फेरि आज मन्त्री नियुक्त गरेका हुन्। आज बेलुका ५ बजे शपथ कार्यक्रम तोकिएको छ।
सांसद नभएको व्यक्तिलाई पनि मन्त्री बनाउन सकिने व्यवस्था छ। त्यसैमा टेकेर प्रधानमन्त्री ओलीले उनीहरूलाई पुनर्नियुक्ति दिएका हुन्। अब ६ महीनाभित्र संघीय संसद्को सदस्य हुनुपर्छ।
२०७४ सालको आमनिर्वाचनमा रायमाझी अर्घाखाँची, भट्ट कैलाली–४, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। अब उनीहरूको क्षेत्रमा ६ महीनाभित्र उपनिर्वाचन हुनेछ।
सर्वोच्च अदालतको आदेशसँगै एमाले र माओवादी ब्युँतिएपछि उनीहरू एमालेतिर लागेका थिए। प्रधानन्त्री एवं एमाले अध्यक्ष ओलीले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।