चार सांसद पदमुक्त भएका निर्वाचन क्षेत्रमा कुन पार्टीको पल्ला भारी?
प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) बाट प्रत्यक्षतर्फ निर्वाचित चार सांसदको पद खारेजसँगै रिक्त भएका क्षेत्रमध्ये गत निर्वाचनमा दुई वटामा कांग्रेस तथा एक/एक वटामा एमाले र माओवादीले समानुपातिकतर्फ धेरै मत पाएका थिए।
नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूले दल त्याग गरेको औपचारिक जानकारी दिएपछि प्रतिनिधि सभाको चार स्थान रिक्त भएका छन्। ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी २६ चैतदेखि सांसद नरहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
२०७४ सालको आमनिर्वाचनमा रायमाझी अर्घाखाँची, भट्ट कैलाली–४, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचन आयोगका उच्च अधिकारीहरू ती क्षेत्रमा ६ महीनाभित्र उपनिर्वाचन हुने बताउँछन्।
३ जेठ २०७५ मा एकता घोषणा गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले २०७४ सालको निर्वाचनमा एउटै घोषणापत्र बनाएर चुनाव लडेका थिए। अहिले रिक्त भएका चार वटै निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दोस्रो स्थानमा थियो।
त्यतिबेला अर्घाखाँची र कैलाली–४ मा समानुपातिकतर्फ माओवादीको भन्दा एमालेले धेरै भोट पाएको थियो। प्रभु साहले चुनाव जितेको रौतहट–३ मा एमालेको भन्दा माओवादीको भोट चार गुणा बढी थियो।
अर्घाखाँची
टोपबहादुर रायमाझी ५० हजार ८३७ मत पाएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा.रामबहादुर बीसीले ३२ हजार ५४४ मत पाएका थिए।
समानुपातिक
एमाले : ३० हजार ४१७
माओवादी : १४ हजार ९६२
कांग्रेस : २८ हजार ३६९
कैलाली–३
पदमुक्त चार जनामध्ये गौरीशंकर चौधरी सबैभन्दा कम मतान्तरले विजयी भएका थिए। उनले २४ हजार ८७९ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए।
समानुपातिक
एमाले : नौ हजार १२५
माओवादी : १५ हजार ९९
कांग्रेस : १६ हजार ८१५
कैलाली–४
लेखराज भट्ट ३१ हजार ३५९ भोट पाएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी सुनील भण्डारीले २० हजार ९६० मत पाएका थिए।
समानुपातिक
एमाले : १७ हजार ६४९
माओवादी : १२ हजार ६७
कांग्रेस : १९ हजार ८६१
रौतहट–३
प्रभु साहले २७ हजार ७९९ मतसहित विजय हासिल गरेका थिए। कांग्रेसका सुनीलकुमार यादवले १८ हजार २०६ र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १४ हजार ६५८ मत पाएका थिए।
समानुपातिक
एमाले : चार हजार ७१०
माओवादी : १८ हजार ३०५
कांग्रेस : ११ हजार ११