पेशागत संगठनको चुनावमा ओली र नेपाल समूहको संयुक्त प्यानल
सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा (एमाले) दुई धारमा विभाजित भए पनि पेशागत संगठनकाे चुनावमा भने संयुक्त प्यानल बनेकाे छ।
२३ फागुनको सर्वोच्चको फैसला एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए। त्यससँगै एमाले दुई चिरामा विभाजित भएको छ। एकातिर अध्यक्ष केपी शर्मा ओली र अर्कातिर माधव नेपाल पक्ष संगठन विस्तार र पुनर्गठनमा लागेका छन्।
यसरी एमाले विभाजनको सँघारमा पुगेका बेला पार्टी निकटका प्रगतिशील वन प्राविधिक संघ र प्रोफेसनल इन्जिनियर्स एसोसिएसन नेपाल भने एक भएर चुनावी मैदानमा उत्रिएका छन्। आगामी २४ वैशाखमा हुने नेपाल इन्जिनियर्स एसोसिएसन र २८ चैतमा हुने नेपाल वन प्राविधिक संघको निर्वाचनमा दुवै पक्ष एकै ठाउँमा उभिएका हुन्।
वन प्राविधिक संघको निर्वाचनमा प्रगतिशील समूहबाट डा. किरण पौडेल उम्मेदवार छन्। उनी माओवादी र एमाले निकटका वन प्राविधिक कर्मचारीका साझा उम्मेदवार हुन्। संघमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) निकटका कर्मचारीको तर्फबाट राकेश कर्ण उम्मेदवार छन्।
त्यसैगरी नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा एमाले निकटको प्रोफेसनल इन्जिनियर्स एसोसिएसनका तर्फबाट डा. सुरज लामिछाने, कांग्रेस निकटको प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनबाट हरि दर्लामी चुनावी मैदानमा छन्।
माओवादी निकटको नेपाल इन्जिनियर्स संगठनका तर्फबाट हरिराम पराजुली उम्मेदवार छन्। संगठनलाई जसपा नेता उपेन्द्र यादव निकटका इन्जिनियरको समर्थन छ भने जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो नजिकका इन्जिनियरले लामिछानेलाई सहयोग गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा २१ हजार ३६० मतदाता छन्।