नेपालमा पनि कोरोनाको दोस्रो लहरको संकेत, यस्तो छ संक्रमणकाे ग्राफ
भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउनसक्ने संकेत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ चैतमा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यो दिन नेपालमा २ लाख ७५ हजार २३१ जना संक्रमित पुगेका थिए।
त्यसयता क्रमिक रूपमा संक्रमण बढ्दै आएको देखिएको छ। त्यसको ७ दिनपछि ८ चैतमा नयाँ संक्रमितको संख्या ७७ पुगेको छ। चैत पहिलो साताको औसत प्रतिदिन ९६ संक्रमित थपिएका छन्।
त्यस्तै, चैत दोस्रो सातामा औसत संक्रमितको संख्या झन् बढेको छ। यो साता औसत प्रतिदिन १३३ संक्रमित थपिएका छन्।
नयाँ संक्रमित थपिने क्रम चैत तेस्रो साता झन् बढेको छ। २२ चैतमा नयाँ संक्रमित १७६ पुगेका छन्। यो साता औसतमा दैनिक थपिएका संक्रमितको संख्या १५८ पुगेको छ।
यो साताको शुरूआत पनि राम्रो देखिएको छैन। २३ चैतमा २६६ थपिएका छन् भने २४ चैतमा २६० संक्रमित पुष्टि भएका छन्।
त्यस्तै, २५ चैत अर्थात् पछिल्लो २४ घन्टामा २९८ नयाँ संक्रमित देखिएका छन्। योसँँगै संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या २ हजार २०१ रहेको छ।
कोरोनाबाट अहिलेसम्म नेपालमा ३ हजार ३८ जनाको ज्यान गएको छ। अहिलेसम्म कुल संक्रमितमध्ये २ लाख ७३ हजार ५२९ जना निको भएका छन्।
स्वास्थ्य मन्त्रालयले जेठ-असारमा कोरोनाको संक्रमण उच्च बन्नसक्ने प्रक्षेपण गरेको छ। दोस्रो लहरको जोखिमलाई ध्यानमा राखेर रात्रिकालीन व्यवसाय राति ९ बजेदेखि बन्द गर्न निर्देशन दिएको छ।