माओवादीले गृहमन्त्री थापासहित पाँच मन्त्रीलाई सांसदबाट बर्खास्त गर्ने
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापासहित पाँच जना मन्त्रीलाई सांसदबाट हटाउने भएको छ।
गृहमन्त्री थापासँगै, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसदबाट हटाउन आजै पत्राचार गरिएको राष्ट्रिय सभा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए।
गृहमन्त्री थापा राष्ट्रिय सभाका सांसद हुन् भने भट्ट, रायमाझी, साह र चौधरी प्रतिनिधि सभाका सांसद हुन्। सांसद नरहेको व्यक्ति पनि ६ महीनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उनीहरू पाँचै जनालाई २८ फागुनमा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
एमाले केन्द्रीय सदस्य मनोनीत खानेपानीमन्त्री मणिचन्द्र थापा, खेलकुदमन्त्री दावा लामा लगायतलाई पनि कारबाहीको निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। थापा र लामा भने सांसद होइनन्।
प्रवक्ता श्रेष्ठले हिमालखबरसँग भने, “कारबाहीको निर्णय यसअघि नै भइसकेको थियो, त्यसैअनुसार आज पत्राचार गरिएको हो।”