फेरि बन्दाबन्दी हुँदैन : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि फेरि बन्दाबन्दी नगरिने बताएका छन्।
भारतमा कोरोना भाइरसको नयाँ लहर चलेपछि नेपालमा पनि त्यसको असर पर्ने अनुमान भइरहेका बेला मन्त्री त्रिपाठीले अब बन्दाबन्दी आवश्यक नभएको बताएका हुन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कन्क्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले बन्दाबन्दीका सट्टा महामारी नियन्त्रणका लागि आवश्यक सबै खालका कदम चाल्न सरकार तयार रहेको बताए।
उनले सीमानाकामा एन्टिजिन परीक्षण गर्न थालिएकाे तथा सीमानाकामा आइसोलेसन कक्ष र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको पनि बताए।
अमेरिकी दूतावासको यूथ काउन्सिल अन्तर्गतको सिभिक इन्गेजमेन्ट प्रोजेक्टले नेपाल हेल्थ कन्क्लेभ २०२१ आयोजना गरेकाे हो। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लू बेरीले कन्क्लेभको उद्घाटन गरेका छन्। यो कार्यक्रममा नीति निर्माता, विज्ञ तथा सरोकारवालाले नेपालमा सार्वजनिक स्वास्थ्यका विषयका अवसर, चुनौती र भविष्यको दिशानिर्देशका विषयमा छलफल गर्दै छन्।
कार्यक्रम उद्घाटन गर्दै अमेरिकी राजदूत बेरीले कोरोनाभाइरसको महामारीका बीचमा आयोजित यो कार्यक्रमले सरोकारवालाहरूबीच साझा धारणा बनाएर सार्वजनिक स्वास्थ्यको क्षेत्रलाई सुधार गर्न सहयोग पुग्ने बताए। उनले महामारीसँग जुध्न सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजले साझा समाधानका उपाय अघि सार्नुपर्ने र जिम्मेवारी लिनुपर्ने बताए।
बेरीले भने, “मलाई आशा छ, यो सभाले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा भविष्यमा आइपर्ने चुनौतीसँग जुध्न सिर्जनशील उपाय र प्रतिबद्धता जनाउनेछ।”
कन्क्लेभमा स्वास्थ्य साक्षरता, कोभिड–१९ र दिगो विकासका लक्ष्यहरू, स्वास्थ्य नीतिको पुनर्निर्माण तथा स्वस्थ नेपाल निर्माणका लागि मूलधारका मिडियाको भूमिका जस्ता विषयमा विज्ञहरूसँग छलफल गरिनेछ।
अमेरिकी दूतावासले युवा सहभागिता बढाउन यूथ काउन्सिल सञ्चालन गर्दै आएको छ। नेपालमा पारदर्शिता, समावेशिता, सुशासन तथा जवाफदेहिता बढाउन यूथ काउन्सिलले लामो समयदेखि यस्ता कार्यक्रम आयोजना गर्दै आएको विज्ञप्तिमा जनाइएको छ।