आरती लामासहित तीन नेतालाई अनेरास्ववियूले गर्यो कारबाही
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूका तीन जना निवर्तमान सचिवलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कारबाही गरेको छ।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गरेका हुन्। तीनै जनालाई अनेरास्ववियूको साधारण सदस्यबाट समेत निष्कासन गरिएको अध्यक्ष महरले जनाएका छन्।
अनेरास्ववियू अध्यक्ष महर ओली पक्षका हुन्। लामा, आलम र पराजुली एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्।
लामासहितका नेताहरूले १० चैतमा अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। जसमा पराजुली अध्यक्ष, आलम सह-अध्यक्ष र लामा महासचिव रहेका थिए।
त्यसपछि अध्यक्ष महरले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गरिएको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष महरले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संगठनको निर्देशनलाई अटेर र घोर अपमान गरी स्पष्टीकरण नदिएकाले उहाँहरूलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।