भारतबाट कोरोना संक्रमण रोक्न विज्ञहरूले दिए यस्तो सुझाव
भारतमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेसँग नेपालमा पनि दोस्रो लहरको जोखिम बढेको छ। भारतबाट कोरोनाको दोस्रो लहर नेपाल भित्रिन नदिन विज्ञहरूले विभिन्न सुझाव दिएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा आउँदो जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उच्च बिन्दुमा पुग्ने बताए। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कोरोनाबाट जोगिन भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरे।
सोमबार नै काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौं उपत्यका प्रवेश गर्नेहरूमध्ये लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। बैठकले सबै स्थानीय तहहरूलाई आइसोलेसन सेन्टर र क्वारेन्टिन तयार पार्न निर्देशन दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
भारतमा एकै दिन एक लाखभन्दा बढीमा संक्रमण देखिएपछि नेपालमा पनि संक्रमणको उच्च जोखिम देखिएको जनस्वास्थ्यविज्ञहरू बताउँछन्। त्यसो भए दोस्रो लहरबाट जोगिन के गर्ने त? विज्ञहरूको सुझाव जस्ताको त्यस्तैः
‘भारतसँगकाे सीमानाकामा कडाइ गर्नुपर्छ’
डा. बाबुराम मरासिनी, पूर्वनिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
विश्वलाई हायलकायल पारेको कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन वा निषेधाज्ञाको पनि हामीले राम्रोसँग पालना गरेनौं। नियम बनाइसकेपछि ठूलोलाई नलाग्ने, तर सानालाई मात्रै लाग्ने गर्नुहुँदैनथ्यो। लकडाउनका बेलामा पनि शक्ति र पहुँच हुनेहरू निर्बाध रूपमा देशभरि घुमे। कोरोना फैलाउने महत्त्वपूर्ण कारण बन्यो, त्यो।
त्यतिबेला अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेहरूलाई १४ दिन क्वारेन्टिनमा राख्ने र पीसीआर परीक्षण गर्ने गरियो। तर, सडक हुँदै नेपाल प्रवेश गर्नेहरूलाई व्यवस्थित गर्न सकेनौं। भारत हुँदै जुनसुकै देशबाट नेपाल प्रवेश गर्नेहरूको परीक्षण गर्न सकेनौं। परीक्षण रिपाेर्ट नै अनिवार्य गर्न पनि सकिएन।
यसपटक भारतमा संक्रमण बढेकाले नेपालमा पनि त्यसको जोखिम हुनु स्वाभाविक छ। बेलैमा ध्यान नदिने हो भने धेरैलाई संक्रमित बनाउन सक्छ। त्यसकारण सीमा नाकामा कडाइ गरिनुपर्छ। नेपालभित्र प्रवेश गरिसकेकाहरूलाई ठाउँ–ठाउँमा र्यान्डम परीक्षण गर्ने व्यवस्था गर्नुपर्छ।
‘परीक्षण गराएपछि मात्रै घरपरिवारसँग घुलमिल हुन दिनुपर्छ’
डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ
पहिलो कुरा त कोभिड–१९ बाट जोगिन सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्यो। अर्को, गत वर्ष पनि भारतमा संक्रमण बढेपछि नेपालमा पनि बढेको थियो। त्यस्तो नहोस्, तर त्यही अवस्था दोहोरिने सम्भावनालाई नकार्न सकिँदैन।
सबैलाई थाहा भएकै कुरा हो, नेपाल र भारतबीचको नाका खुल्ला छ। औपचारिक–अनौपचारिक नाका धेरै भएकाले सबै ठाउँमा हेल्थ डेस्क राख्न सम्भव देखिँदैन। राखिहाले पनि सबैले परीक्षण गराएर आउँछन् भन्ने पनि छैन। लकडाउनका बेला नदीबाट पौडी खेलेर आएको पनि हामीले बिर्सेका छैनौं।
मेरो विचारमा सबै स्थानीय तहहरूले आ–आफ्ना वडामा भारतबाट आउनेहरूका लागि कम्तीमा १० दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्दछ। आरटी–पिसिआर वा एन्टिजिन टेस्ट गराएपछि मात्रै घरपरिवारसँग घुलमिल हुने व्यवस्था गर्नु राम्रो हुन्छ।
स्थानीय सरकारहरूले बेलैमा यसको अग्रसरता लिने हो भने कोरोनाको दोस्रो लहरलाई धेरै हदसम्म रोक्न सकिन्छ।
‘भारतबाट आएकालाई परीक्षण र कम्तीमा पाँच दिन निगरानीमा राख्नुपर्छ’
डा. समीरमणि दीक्षित, जनस्वास्थ्यविज्ञ
परीक्षण बढी भएका ठाउँमा संक्रमितको संख्या पनि बढेको देखिन्छ। भारतमा ह्वात्तै बढिसकेकाले हामीकहाँ तराई–मधेसका जिल्लाबाट बढ्ने सम्भावना देख्छु। सरकारले एन्टिजिन परीक्षण गर्ने जुन नीति लिएको छ, त्यो सही छ। तर, सबैको परीक्षण गर्न सम्भव छैन।
त्यसकारण कोरोनाको दोस्रो लहर रोक्नका लागि सीमानाकाहरूमा परीक्षण गर्नुको खासै अर्थ छैन। एक हिसाबले भन्दा त्यो समय र पैसाको नाश मात्रै हो। किनभने खुला सिमाना र हजाराैं चोर बाटा छन्। लक्षण भएका व्यक्तिहरू लुकेर आउने सम्भावना बढी हुन्छ।
भारतबाट आउनेहरूकाे व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहहरूलाई सुम्पिनु ठीक हुन्छ। हालसालै भारतबाट आएकालाई परीक्षण र कम्तीमा पाँच दिन निगरानीमा राख्ने व्यवस्था गराउनु प्रभावकारी उपाय हुनसक्छ।
विगतमा पनि स्थानीय तहहरूले राम्रो भूमिका खेलेका थिए। भौतिक दूरी कायम राख्ने, मास्कको प्रयोग, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग, भीडभाड नगर्ने त छँदै छ।