जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ र असारमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री त्रिपाठीले भारतमा कोरोनाको दोस्रो लहर फैलिएको कारण नेपाल उच्च जोखिममा रहेको बताए। उनले भने, “जनस्वास्थ्यको मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकेनौं भने जेठ–असारमा संक्रमण उच्चबिन्दुमा पुग्नसक्छ।”
प्रत्येक नागरिक कोरोनाबाट जोगिन सतर्क र सचेत हुनुपर्ने उनको भनाइ छ। त्रिपाठीले गत वर्ष भारतमा संक्रमण बढेपछि नेपालमा पनि बढेको स्मरण गरे।