गाडी दुर्घटनामा दैनिक ७ जनाले ज्यान गुमाउँदै
गाडी दुर्घटनामा देशभर दैनिक ७ जनाले ज्यान गुमाउने गरेका छन् भने याेभन्दा बढी घाइते हुने गरेका छन्।
ट्राफिक प्रहरीका अनुसार, गाडी दुर्घटनामा दैनिक कम्तीमा ७ जनाले ज्यान गुमाउने गरेकाे तथ्यांक छ। दुर्घटनामा ज्यान गुमाउनेसँगै घाइते र अंगभंग हुनेको संख्या योभन्दा बढी छ। अझ दुर्घटनामा करोडौंको क्षति हुने गरेको छ।
दुर्घटना न्यूनीकरणका लागि सरकारी तथा निजी क्षेत्रबाट पहल भएको भने देखिँदैन। जसले गर्दा हाम्रा सडकहरू असुरक्षित बन्दै गएका छन्। दुर्घटनाका कारण अपांगतासँग जुधिरहेका पत्रकार गजेन्द्र बुढाथोकी भन्छन्, “दुर्घटना जसलाई जति बेला पनि हुनसक्छ।”
उनी ८ असोज २०६५ मा दुर्घटनामा परेका थिए। त्यसयता उनी ह्विलचेयरको सहारामा काम गर्दै आएका छन्। बुढाथोकी भन्छन्, “२०६५ असोज ८ गते बेलुका ९ बजेर १२ मिनेटभन्दा अघि मैले म दुर्घटना पर्छु भनेर सोचेको पनि थिइनँ।”
सरकारी तथा निजी क्षेत्रले पनि सडक सुरक्षित बनाउन पहल गरेकाे देखिंदैन। के अझै पनि सोच्ने बेला भएको छैन? यससम्बन्धी विशेष रिपोर्ट भिडिओ म्यागजिन ‘सग्लो समाज’को नयाँ अंक ‘हाम्रा सडक : पाइलैपिच्छे खतरा’मा हेर्न र सुन्न सकिनेछ।
यो कार्यक्रम आज राति ८ः३० बजे डिस होमको सरोकार च्यानल १३० मा प्रसारण हुनेछ।