एसिड आयातकर्तासँग सरकारले माग्यो विवरण, अनुमति नलिए तीन महीना कैद
सरकारले तेजाब तथा अन्य घातक रसायन आयातकर्तासँग विवरण मागेको छ। गृह मन्त्रालयले आइतबार सूचना जारी गरी ‘एक वर्षका लागि के कति परिणाममा यस्तो घातक रसायन आवश्यक परेको हो’ स्पष्ट खुलाएर विवरण पेश गर्न भनेको छ।
सरकारले १२ असोज, २०७७ मा ल्याएको अध्यादेशमा खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब तथा अन्य घातक रसायन ल्याउन अनुमति दिन सकिने व्यवस्था छ। अनुमति नलिई कसैले एसिडको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण वा प्रयोग गरेमा तीन महीना कैद र रू.१ लाखसम्म जरिवाना हुने अध्यादेशको दफा २४ मा उल्लेख छ।
१६ चैतमा स्वीकृत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावलीमा एसिड आयात गर्न चाहने उद्योगले नाम, ठेगाना, प्रकार, ईजाजतपत्र नम्बर, ईजाजतपत्र कायम रहने अवधि, स्थायी लेखा नम्बर, पैठारी गर्न चाहेको एसिडको नाम, परिणाम, आयात गर्नुको उद्देश्य, आयात गरिने देश र आयात गरिने नाका खुलाएर निवेदन दिनुपर्ने उल्लेख छ।
एसिड उत्पादन, निकासी वा पैठारीको अनुमति गृह मन्त्रालयले र बिक्रीवितरणको अनुमति प्रमुख जिल्ला अधिकारीले दिन सक्ने प्रावधान छ। कानूनले तोकेको शर्त पूरा नगर्नेको भने जुनसुकै बेला अनुमति खारेज हुने कानूनी व्यवस्था छ।
कानून विपरीत एसिड आयात, बिक्रीवितरण र प्रयोगमा बन्देज लगाउनुपर्ने अधिकारकर्मी उज्ज्वलविक्रम थापा बताउँछन्। उनी भन्छन्, “सरकारको निगरानीमा बाहेक यस्तो घातक रसायनको बिक्रीवितरण रोक्नुपर्छ।”