भारतमा आज संसारकै सबैभन्दा बढी संक्रमित थपिए
कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको भारतमा आज संसारकै सबैभन्दा बढी संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ९२ हजार ९९८ संक्रमित थपिएका हुन्। यो संसारका अन्य देशमा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी हो।
पछिल्लाे २४ घण्टामा संसारभर ५ लाख २८ हजार १९८ संक्रमित थपिएका छन्। जसमा सबैभन्दा बढी भारतमा थपिएका हुन्।
दोस्रोमा अमेरिका ६६ हजार ९२, तेस्रोमा टर्की ४४ हजार ७५६ र चौथोमा ४१ हजार २१८ संक्रमित थपिएका छन्। एकैदिन १० हजारभन्दा बढी संक्रमित थपिने १२ देश रहेका छन्।
भारतमा दैनिक संक्रमित बढ्दै गएका छन्। शुक्रबार ८९ हजारमा संक्रमण पुष्टि भएको थियो। ६ महीनायता पहिलो पटक भारतमा सबैभन्दा बढी संक्रमित थपिएका हुन्।
एक सातामा थपिएका संक्रमितको औसत पनि भारतमा अन्य देशभन्दा बढी छ। यसमा भारतले अमेरिका र ब्राजिललाई पछि पारेको छ।
त्यस्तै, भारतमा पछिल्लाे २४ घन्टामा कोरोनाबाट ५१४ जनाको मृत्यु भएको छ। यो पनि चार महीनायता सबैभन्दा बढी हो।
भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा ४९ हजार ४५४ संक्रमित देखिएका छन्। त्यस्तै, कोरोनाबाट २७७ जनाको मृत्यु भएको छ। यो पनि ६ महीनायताको सबैभन्दा बढी हो।
भारतका शहरमा सबैभन्दा बढी संक्रमण मुम्बईमा देखिएको छ। मुम्बईमा ९ हजार १०८ जनामा कोरोना पुष्टि भएको छ। मुम्बईमा मात्रै २७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
महाराष्ट्रसँगै छत्तीसगढ, मध्यप्रदेश र गुजरातमा पनि संक्रमण तीव्र देखिएको छ। छत्तीसगढमा ५ हजार ८१८, मध्यप्रदेशमा २ हजार ८३९ र गुजरातमा २ हजार ८१५ जनामा कोरोना देखिएको छ।
कोरोना संक्रमण उच्च रहेका राज्यमा नेपालसँग जोडिएको उत्तरप्रदेश पनि रहेको छ। उत्तरप्रदेशमा ३ हजार २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो ६ महीनायताकै उच्च हो।
नेपालसँग जोडिएका पश्चिम बंगाल र बिहारमा पनि कोरोनाको संक्रमण उच्च रहेको छ। शनिबार पश्चिम बंगालमा १ हजार ७३६ र बिहारमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुवै राज्यमा याे पाँच महीनायताको सबैभन्दा बढी हो।