प्रधानमन्त्री ओलीले एकैपटक गरे १६५ सडककाे शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट एकैपटक १६५ सडकको शिलान्यास गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १६५ निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन्। सबै सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर शिलान्यास गरेका छन्।
शिलान्यास गरिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम, अन्तर्राष्ट्रिय विमानस्थल र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बताए। सबै सडक निर्माण योजना सांसदहरूको सिफारिशमा छनोट गरिएको उनले बताए।
सबै सडकको कुल लम्बाइ २ हजार २१० किलोमिटर रहेको छ। शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताए।
सडक शिलान्यास कार्यक्रममा मन्त्री, प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरू उपस्थित थिए।