माधव नेपाल समूहले संगठन निर्माण अभियान चलाउने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको नेता माधवकुमार नेपाल समूहले देशव्यापी रूपमा अभियान चलाउने भएको छ।
शुक्रबार कलंकीमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका अभियान चलाउने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिंदै नेता योगेश भट्टराईले भने, “राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएका छन्, भोलि (शनिबार) निर्णय गर्छौं।”
आफ्ना समूहका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालिएको भट्टराईले बताए।
४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएर कार्यकर्तामाझ वितरण गरिने भएको छ।