बम विस्फोटमा घाइते एक युवकको मृत्यु
बागलुङको बडिगाड गाउँपालिकामा बम विस्फोट हुँदा घाइते भएका एक युवकको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका–२ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएको थियो। बिहीबार बम विस्फोट हुँदा गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२, सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर राना र बडिगाड गाउँपालिका–२, हाँडीखोलाका २८ वर्षीय अरुण पुन घाइते भएका थिए।
विस्फोटमा गम्भीर घाइते भएका मित्रबहादुरको उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताए। उनका अनुसार विस्फोटमा गम्भीर घाइते भएका अर्का युवक अरुणको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाउँदै गर्दा एक्कासि विस्फोट भएको पाइएको डीएसपी हवारीले बताए। यसमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।