आजबाट बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा वितरण थालेको छ।
बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएको थियो। आज बिहान ५ बजेबाट धारामा वितरण भएको लिमिटेडले जनाएको छ।
आजबाट नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ। “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ,” शाक्यले भने।
खानेपानी लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ। पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए। उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारबाट नै पानी पठाउन थालिएको छ।
यही १५ चैतबाट उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको हो। पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण गरिएको थियो।
एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे ८ करोड लिटरसम्म पानी आउनेछ। अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे ८ करोड लिटर पनि ल्याउन सकिने शाक्यले बताए। दुवै प्रशोधन केन्द्रबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ।
मेलम्ची खानेपानी आयोजनाले गत महीना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो। त्यसको दुई सातापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो।
पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो। राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको छ।