निलम्बनपछि घनश्याम भुसालले के भने?
नेकपा (एमाले) का नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका ‘बर्बादीका’ लागि दुनियासँग माफी माग्ने बताएका छन्।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले ६ महीनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरे लगत्तै भुसालले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा कृषिमन्त्री रहिसकेका नेता भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको आरोप लगाएका छन्।
अर्का नेता सुरेन्द्र पाण्डेलाई पनि ओलीले आजै ६ महीनाका लागि निलम्बन गरेका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल यसअघि नै निलम्बनमा परेका थिए।
निलम्बनपछि भुसालको प्रतिक्रियाः
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु’, यो उनी आफैंले कबुल गरेको जीवन दर्शन हो। एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन् या शत्रु। उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दै छन्, हामीले सामना गरौँला/गर्नेछौँ। तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ।
उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ। मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु।