अध्यक्ष ओलीले गरे सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई निलम्बन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी सदस्यताबाट निलम्बन गरेका छन्।
दुवै जनाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले पाण्डे र भुसाललाई बिहीबार ६ महीनाका लागि निलम्बन गरेका हुन्।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा सच्चिनका लागि यो अन्तिम अवसर भएको उल्लेख छ। “आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यवहोरा समेत जानकारी गराइन्छ,” ओलीले लेखेका छन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल यसअघि नै ६ महीनाका लागि निलम्बनमा परिसकेका छन्।