अझै केही दिन तुवाँलो नहट्ने
विगत केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ। मौसमविद् समीर श्रेष्ठका अनुसार, तुवाँलो हट्न मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ। “अबको दुई-तीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन,” मौसमविद् श्रेष्ठले भने।
अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचलेका कारण सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलब शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलवब दुई डिग्री सेल्सियस रहनेछ।
त्यस्तै, बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलब शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलब पाँच डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। (रासस)