विश्व ब्यांकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर महामारी पूर्वको अवस्थामा तत्काल नफर्किने
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। ब्यांकले बुधबार दक्षिण एसियाको अर्थतन्त्रका विषयमा नयाँ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रको सामान्य विस्तार हुने अनुमान गरेको हो।
कोरोनाभाइरस संक्रमण महामारीले सिर्जना गरेको असहजताका कारण गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतले ऋणात्मक भएको थियो। गत वर्ष नेपालको अर्थतन्त्रमा करीब ४ दशकपछि नकारात्मक वृद्धि भएको हो। महामारीको प्रभाव मत्थर हुँदै गएसँगै अर्थतन्त्रले पूर्व लय समात्ने अनुमान गरिएको थियो। तर, महामारी शुरू हुनुअघिको अवस्थामा फर्किन तत्काल सम्भव नभएको ब्यांकको आकलन छ।
चालू आर्थिक वर्षसहित आगामी आर्थिक वर्षमा पनि अर्थतन्त्रको विस्तार सामान्य मात्रै हुने ब्यांकले आकलन गरेको छ। प्रतिवेदनका अनुसार, आगामी आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने ब्यांकको प्रक्षेपण छ।
कोरोनाभाइरसको प्रभाव शुरू हुनुअघिका तीन आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऐतिहासिक रूपमा उच्च भएको थियो। केन्द्रीय तथ्यांक विभागका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा देशको आर्थिक वृद्धिदर ६.३९ प्रतिशत भएको थियो। यसअघिका दुई आर्थिक वर्षमा पनि वृद्धिदर ७ प्रतिशतभन्दा धेरै थियो।
विश्व ब्यांकले कोरोनाभाइरसविरुद्धको खोप आएको र महामारीको प्रभाव मत्थर हुँदै गएकाले अर्थतन्त्र चलायमान हुन थालेको निष्कर्ष निकालेको छ। नेपालमा वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले अर्थतन्त्रलाई चलायमान हुन मद्दत गरिरहेको ब्यांकले जनाएको छ।
ब्यांकका अनुसार, दक्षिण एसियाली देशको अर्थतन्त्र बिस्तारै कोरोनाभाइरसको प्रभावबाट मुक्त हुँदै गएको छ। सन् २०२१ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत हुने आकलन गरिएको छ। दक्षिण एसियामा पनि सन् २०२१/२२ मा सबैभन्दा धेरै भारतको अर्थतन्त्र १०.१ प्रतिशतले बढ्ने ब्यांकको प्रक्षेपण छ।कोरोनाभाइरसको प्रभावका कारण गत वर्ष सन् २०२०/२१ मा भारतको अर्थतन्त्र ८.५ प्रतिशतले ऋणात्मक वृद्धि भएको थियो।
बाङ्लादेशको अर्थतन्त्र सन् २०२०/२१ मा ३.६ प्रतिशतले बढ्ने आकलन छ। आर्थिक वर्ष २०२१/२२ मा बाङ्लादेशको अर्थतन्त्र ५.१ प्रतिशतले बढ्ने अनुमान छ।
यस्तै, दक्षिण एसियाको सानो देश भुटानको अर्थतन्त्र सन् २०२०/२१ मा १.८ प्रतिशतले ऋणात्मक वृद्धि हुने अनुमान छ।