वायु प्रदूषण बढेपछि चार दिन विद्यालय बिदा
वायु प्रदूषण बढेपछि सरकारले चार दिन शैक्षिक संस्था बन्द गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले १७ चैतदेखि चार दिन बिदा दिने निर्णय गरेको हो।
१७ देखि २० चैतसम्म विद्यालय बन्द रहने मन्त्रालयका प्रवक्ता दीपक शर्माले हिमालखबरलाई जानकारी दिए। शर्माका अनुसार निर्धारित परीक्षाहरू भने पूर्ववत् सञ्चालन हुनेछन्।
गत हप्तादेखि काठमाडौं लगायत देशका विभिन्न भागमा आँखा पोल्ने गरी वायु प्रदूषित बढेको छ। सरकारले ज्येष्ठ नागरिक, दीर्घ रोगी र बालबालिकाको विशेष ख्याल गर्न सचेत गराएको छ।
प्रदूषणले स्वास्थ्यमा प्रभाव पार्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्कन, मर्निङ वाक नगर्न र अत्यावश्यक कामका लागि घरबाहिर जानुपरे मास्क लगाउन आग्रह गरेको छ।