होलीले उत्सवमय मिथिला
रङको पर्व होली आज तराईमा धुमधामसँग मनाइँदै छ। बिहानैदेखि ‘बुरा नमानो होली है’ भन्दै सर्वसाधारण एक-अर्कामा अबीर लगाउन थालेसँगै मिथिला उत्सवमय बनेको छ।
ससाना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबीर खेल्न मस्त। सबैका हातमा विभिन्न रङका अबीरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन। घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबीरको टीका। घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त। आज प्रदेश २ को मिथिला क्षेत्र रङ र अबीरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ।
‘बुरा नमानो होली है’ रङ, अबीर खेल्दा उमेर, यही क्रम नाघिएछ भने माफी माग्दै भनिने यति हो। पर्वमा रङ, अबीर खेल्दा शिष्टताको ख्याल गर्ने मैथिल संस्कृति छ। घरका होऊन् वा आफ्नो समाजका, श्रेष्ठजनले अबीरको टीका लगाइदिएर ईर्ष्या, अहंकार त्यागेर सबैप्रति सम्मान र आदर दर्शाउन अर्ती दिन्छन्। सानाले बडालाई आदर गर्दै अबीरले पाउ पुजेर अबीर ग्रहण गर्न आग्रह गर्छन्। समाजमा, नाता सम्बन्धमा श्रेष्ठजनप्रति दर्शाउने शिष्टताको स्थापित परम्परा छ।
यो पर्वमा रङ, अबीर खेल्नुसँग नाता, सम्बन्धको सरोकार देखिन्छ। लुकेर रङले लच्छ्रप्पै बनाएको देख्दा हाँस्नेहरूको रमाइलो झनै रोमाञ्चक र मनोरञ्जक बन्ने गर्छ। समान उमेरका मोस्तमहिम (इष्टमित्र) पनि मन खोलेर होली खेल्छन्। यी सम्बन्धमा घोलिएको रङ छ्यापाछ्याप गर्नुले सांस्कृतिक मान्यता पाए पनि श्रेष्ठजनलाई यसरी रङ छ्याप्न नहुने मान्यता छ। श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबीर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्।
मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबीर खेल्दै हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ। फागुन शुक्ल पूर्णिमाका भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्परा अनुसार आज मिथिला होलीमय बनेको हो। पर्वको मिथिला माध्यमिकी परिक्रमासँग तादात्म्य रहेकाे पाइन्छ।
मिथिला माध्यमिकी परिक्रमा १४ दिनको यात्रा सकी फर्केर जनकपुरधाम आएपछि पूर्णिमाका दिन जनकपुर अन्तरगृह परिक्रमा पूरा गरेको भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्परा छ। होली जनजन परिचालित हुने मिथिलाको उत्सव र उमंगको पर्व हो । आफ्नो सावगास अनुसार सबै मैथिल यो पर्व मन फुकाएर मनाउँछन्।
राक्षसी (तामसी) प्रवृतिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व मित्रता, भाइचारा र आपसी सद्भाव बढाउने, रिसराग बिर्साउने अवसर मानिन्छ। रङ, अबीरको प्रयोगले यो पर्व उमंग र उल्लासमय बनेको मैथिल संस्कृति र परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ)का नेपाली भाषा साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन्। पर्वका दिन आज मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर, बस्तीमा होली गीत गुन्जिएका छन्। जताततै रङ अबीरको माहोल छ। पर्वले मानिस मात्र होइन, सडक, बाटा, घरआँगन सबै रङ, अबीरले राताम्य भएका छन्।
यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसंग गाँसिएका छन्। अघि त्रेतायुगमा विवाहपश्चात् फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनकनन्दिनी किशोरीजी (सीताजी)ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबीर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होली पर्व प्रारम्भ भएको मानिन्छ।
त्यस्तै होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेकाे कथासँग जोडिएकाे छ। आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी होलिका (हिरण्यकशिपुकी बहिनी) ले प्रह्लादलाई काखमा राखेर अग्निकुण्डमा बस्दा भस्म भएकी, तर प्रह्लाद भने ध्यान मुद्रामा भगवान्काे नाम जप्तै शान्त रहेकाे विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ।
यो प्रसंग श्रीमद्भागवत महापुराणमा पनि वर्णित छ। यसै कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नाश भएको खुशीयालीमा यस पर्व परम्परा चलेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय महेश्वर रायको भनाइ छ। यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यस पर्वको ओज बढाएकाे मैथिल बुद्धिजीवी बताउँछन्।
तराईमा दुई दिन बिदा
यसपालि होली पर्वकै मुखमा भारतमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेसँगै त्यसको प्रभाव मुलुकभित्र देखिन थालेपछि सतर्कता अपनाउन सरकारले अपिल गरिरहेको छ।
महोत्तरी जिल्ला प्रशासनले सार्वजनिक रूपमा होली समारोह आयोजना नगर्न, भीडभाड नगर्न र आफ्नै घरपरिवारभित्र रहेर पर्व मनाउन सर्वसाधारणसँग अपिल गर्दै आएको छ। पर्वका अवसरमा नेपाल सरकारले आज तराईमा बिदा दिएको छ भने प्रदेश २ सरकारले थप एक दिन भोलिलाई समेत बिदा दिने निर्णय गरेको छ। (रासस)