शे-फोक्सुन्डो ताल क्षेत्रमा वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा
वर्ल्डलिंक कम्युनिकेसन्सले शे-फोक्सुन्डो ताल क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरू गरेको छ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गएको ८ चैतमा निःशुल्क वाईफाई सेवा शुभारम्भ गरे। कान्जिरोवा हिमालको काखमा रहेको यो ताल समुद्री सतहभन्दा करीब तीन हजार ६६० मिटरको उचाइमा छ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उपलब्ध स्राेतसाधनलाई विश्व बजारमा पुर्याउने माध्यम सूचना प्रविधि पनि भएकाले विकट स्थानमा इन्टरनेट सुविधा महत्त्वपूर्ण हुने बताए। दुर्गममा नाफामूलक सेवाको सम्भावना कम भएको भन्दै उनले वर्ल्डलिंकले गरेको सामाजिक कार्यको प्रशंसा गरे।
वर्ल्डलिंकका अध्यक्ष अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्त्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइबरको विकल्प नभएको बताए। उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको, तर सरकारले पूर्वाधारको विकास र विस्तार गर्नुपर्ने पनि उनले बताए।
शे-फोक्सुन्डोसम्म इन्टरनेट पुर्याउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको छ। सेवा शुभारम्भ समारोहमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल डोल्पाको शे-फोक्सुन्डो गाउँपालिका-८ का वडाध्यक्ष निमा लामा लगायतको उपस्थित थियो।