सेनाको गोलीबाट बर्मामा ७ वर्षीया बालिकाको मृत्यु
बर्मामा सुरक्षाकर्मीले हानेकाे गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ। सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी बर्मेली नागरिक हुन्।
परिवारजनका अनुसार मंगलबार उनी म्यान्डलेस्थित आफ्नै घरमा मारिएकी हुन्। सेभ द चिल्ड्रेनका अनुसार, बर्मामा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन्।
बर्माको सेनाका अनुसार, अहिलेसम्म आन्दोलनका क्रममा १६४ जनाको मृत्यु भएको छ। तर, एएपीपी (एसिस्टन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स)ले सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म २६१ जनाको ज्यान गइसकेको जनाएको छ।
बर्माको सेनाले मंगलबार एक विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा थुप्रैको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा यसका लागि आन्दोलनकारी नै दोषी रहेको उल्लेख छ।
बर्माको सञ्चारमाध्यमका अनुसार, सेनाले उनका बुवालाई गोली हान्दा घरभित्रै बुवाको काखमा बसिरहेकी उनलाई गोली लागेको हो।ती बालिकाको नाम किन म्यो चित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। किन म्योका परिवारका अनुसार, उनका १९ वर्षीय दाइलाई सेनाले घरबाटै पक्राउ गरेको छ। तर, यसबारे सेनाले कुनै प्रतिक्रिया दिएको छैन।
सेभ द चिल्ड्रेनले प्रेस विज्ञप्ति जारी गरी यसलाई त्रासदीपूर्ण घटना भनेको छ। घरभित्रै बसिरहेकी बालिकाको ज्यान जानु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।
गत १९ माघमा बर्मेली सेनाले जननिर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएको थियो। सैन्य सरकारले नेत्री आङ सान सू चीसहित अन्य नेता र मन्त्रीहरूलाई पनि नियन्त्रणमा लिएको थियो।
सेनाले सत्ता हातमा लिएयता बर्मामा दैनिक प्रदर्शन हुँदै आएको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गर्दा कैयौंको ज्यान गएको छ। तथापि प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीले प्रजातन्त्र पुनःबहाली र नेत्री सू चीलाई रिहा गर्न माग गरिरहेका छन्।
सन् २०११ देखि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि सेनाले सत्ता हत्याएको हो। बर्माको सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी सन् १९६२ देखि २०११ सम्म शासन चलाएको थियो।