नेपाल र बाङ्लादेशबीच ४ क्षेत्रमा समझदारी
नेपाल र बाङ्लादेशबीच ४ क्षेत्रमा समझदारी भएको छ। दुवै राष्ट्रका राष्ट्राध्यक्षकाे उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदकाे उपस्थितिमा बाङ्लादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बाङ्लादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेनले हस्ताक्षर गरेका छन्।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बाङ्लादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो। भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बाङ्लादेशका विदेशमन्त्री डा. एके अब्दुल, बाङ्लादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र लगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।
भेटवार्तापछि उनीहरू राष्ट्रपति हमिदले आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भएका थिए।
बाङ्लादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बाङ्लादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन्। राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेसनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बाङ्लादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी छिन्।
यसअघि बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन्।