भारतमा कोरोनाको दोस्रो लहर, राजस्थानमा रात्रिकालीन कर्फ्यू, नेपालमा पनि संक्रमणको जोखिम
भारतमा कोरोना भाइरसको दोस्रो लहर चलेको छ। संक्रमण अत्यधिक बढेपछि राजस्थानका मुख्य शहरमा रात्रिकालीन कर्फ्यू लगाइएको छ। छिमेकमा संक्रमण फैलिन थालेसँगै नेपालमा पनि जोखिम बढेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा कोरोना संक्रमण ६७ प्रतिशतले बढेको छ। अघिल्लो साताको तुलनामा पछिल्लो सात दिनमा एक लाख संक्रमित थपिएका छन्। एक सातामा सबै गरेर दुई लाख ६० हजार जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा मात्रै ४७ हजार नयाँ संक्रमित पुष्टि भएका छन्। यो पछिल्लो १३० दिनमा सबैभन्दा बढी हो। नयाँ संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन्। महाराष्ट्रमा पछिल्लो २४ घन्टामा ३० हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ।
भारतमा संक्रमितको संख्या एक करोड १६ लाख ४५ हजार ७६९ पुगेको छ। त्यसमध्ये एक लाख ६० हजार तीन जनाको मृत्यु भएको छ भने एक करोड ११ लाख ४९ हजार ३२४ जना निको भएका छन्।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि भारतमा अत्यधिक बढेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २१३ जनाको मृत्यु भएको छ। यो पछिल्लो ७२ दिनमा सबैभन्दा बढी हो।
मृत्यु हुनेमा पनि सबैभन्दा बढी महाराष्ट्रका छन्। महाराष्ट्रमा ९९, पञ्जाबमा ४४, केरालामा १३, छत्तिसगढमा १० र तमिलनाडुमा ९ जनाको मृत्यु भएको छ।
भारतमा महाराष्ट्र फेरि संक्रमणको केन्द्र बनेको छ। पछिल्लो सात दिनमा देशभर थपिएका दुई लाख ६० हजारमध्ये एक लाख ६५ हजार महाराष्ट्रका छन्। यो फेब्रुअरी महीनाभरि देखिएका संक्रमितभन्दा बढी हो।
मुम्बईमा पनि संक्रमण तीव्र रूपमा बढिरहेको छ। पछिल्लो २४ घन्टामा तीन हजार ७९९ जनामा संक्रमण देखिएको छ।
महाराष्ट्रसँगै अन्य राज्यमा पनि कोरोना फैलिने क्रम बढेको छ। पछिल्लो २४ घन्टामा पञ्जाबमा दुई हजार ६६९, गुजरातमा एक हजार ५८०, मध्य प्रदेशमा एक हजार ३२२, तमिलनाडुमा एक हजार २८९, दिल्लीमा ८२३ संक्रमित देखिएका छन्।
त्यस्तै, केरालामा एक हजार ८७५, कर्नाटकमा एक हजार ७१५, छत्तिसगढमा एक हजार, उत्तर प्रदेशमा ४९६ र राजस्थानमा ४७६ जनामा नयाँ संक्रमण देखिएको छ।
राजस्थानमा संक्रमण बढेसँगै रात्रिकालीन कर्फ्यू लगाइएको छ। राजस्थानका आठ मुख्य शहर जयपुर, अजमेर, भीलवाडा, जोधपुर, कोटा, उदयपुर, सागवाडा र कुशलगढमा रात्रिकालीन कर्फ्यू लगाइएको हो। यी शहरहरूमा राति आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन्।
यससँगै अन्य राज्यबाट राजस्थान प्रवेश गर्नेहरूका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ। राजस्थान प्रवेश गर्नेहरूले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको छ।
भारतका प्रमुख शहरहरूमा कोरोना संक्रमण बढेसँग नेपालमा पनि जोखिम बढेको छ। भारतका प्रायः मुख्य शहरमा कामका लागि गएका नेपालीको ओहोरदोहाेर भइरहने गरेको छ।
विशेष गरेर नेपालसँग जोडिएका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा पनि कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छिमेकी देशहरूमा संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन, साबुन–पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा विगतमा जस्तै कोभिड–१९ बाट जोगिन सम्पूर्ण सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ।
“विगत केही हप्तादेखि छिमेकी देशहरूमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएको छ,” प्रवक्ता डा. गौतमले भनेका छन्, “देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय नगर्न आग्रह गर्दछौं।”
नेपालमा पनि पछिल्लो २४ घन्टामा ७७ जनामा संक्रमण पुष्टि भएको छ। तीन हजार १८१ जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ४८ जना क्वारेन्टिनमा छन्।
योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ। उनीहरूमध्ये दुई लाख ७१ हजार ९२१ जना निको भइसकेका छन्। त्यस्तै, कोरोनाबाट नेपालमा तीन हजार १६ जनाको मृत्यु भएको छ।