माधव नेपालसहित चार नेतासँग स्पष्टीकरण सोध्ने एमालेको निर्णय
नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टीकरण लिने भएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधि गरेको भन्दै स्पष्टीकरण लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
उनका अनुसार केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरूमाथि गुट भेला गरेको आरोप लगाइएको छ।
नेपाल पक्षले ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। नेपाल पक्षका नेताहरू केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका छैनन्।
शनिबारकाे एमाले केन्द्रीय कमिटी बैठक वरिष्ठ नेता झलनाथ खनालका विषयमा भने मौन बसेको छ। वरिष्ठ नेता खनाल पनि केन्द्रीय कमिटी बैठकमा गएका छैनन्। उनी पनि राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी थिए।
यसअघि केन्द्रीय कमिटी बैठकमा नगएका उपाध्यक्ष वामदेव गौतम भने आज बालुवाटार पुगेका छन्। एमाले र माओवादी अलग भएपछि उनी पहिलाे पटक केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्।
२८ फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले गौतमको पनि जिम्मेवारी खोसेको थियो। उनीसँगै नेपाल पक्षका पदाधिकारीको पनि जिम्मेवारी खोसिएको थियो। बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
नेपाल पक्षले भने २८ फागुनको बैठकले गरेका निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै आएको छ। ती निर्णय फिर्ता नहुँदासम्म केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने अडान लिएको छ।