महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। उनले शुक्रबार पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ताबाट राजीनामा गरेको जानकारी दिएका छन्।
उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएकाे बताए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएर राजीनामा दिएको भन्ने कुरा गलत भएको उनकाे भनाइ थियाे। “प्रधानमन्त्रीज्यूलाई भेटेर उहाँसँगको परामर्शमै राजीनामा दिएको हुँ,” उनले भने।
उनले अब राजनीतिमा सक्रिय हुने बताएका छन्। खरेल ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए।
२०४७ सालको संविधान निर्माणमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कानूनी सहयोगीका रूपमा काम गरेका खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य थिए। उनी २०६४ र २०७० सालमा संविधानसभा सदस्य बनेका थिए।
त्यस्तै, प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री थिए।