के वाईसीएल हिंसामा फर्कन लागेको हो?
नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले आगामी २८–३० जेठमा राष्ट्रिय भेला गर्ने भएको छ। कुनै समय हिंसात्मक गतिविधिका कारण आलोचित वाईसीएल अब फेरि ब्युँतने भएको छ।
बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले निष्क्रिय संगठन ब्युँताउने निर्णय गरेको वाईसीएलका सचिव पुष्प ओली बताउँछन्। माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि वाईसीएलले ‘अर्धसैनिक दस्ता’ का रूपमा गतिविधि गरेको थियो। कतिपय हिंसा र हत्यामा वाईसीएल नेताहरूको नामसमेत जोडिएको थियो।
मानवअधिकारकर्मी चरण प्रसाईं यो संगठनले जनतामा डर, त्रास र भयको वातावरण सिर्जना गर्न सक्ने बताउँछन्। उनी भन्छन्, “शान्तिपूर्ण रूपमा संगठन गर्ने अधिकार सबैलाई छ, तर अर्धसैन्य दस्ता बन्यो भने राजनीतिक कोर्स गलत दिशामा जान सक्छ।”
वाईसीएलसँग प्रतिवाद गर्न त्यति वेला नेकपा (एमाले)ले युथ फोर्स गठन गरेको थियो। युथ फोर्स अध्यक्ष महेश बस्नेत थिए। वाईसीएलले हिंसात्मक गतिविधि गर्दा अरू पार्टीले पनि यस्तै दस्ता बनाउने सम्भावना रहेको प्रसाईंको विश्लेषण छ।
नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल दलहरूले लडाकु दस्ता निर्माणमा जोड दिन नहुने बताउँछन्। “विगतमा जस्तो भयो भने भिडन्तको अवस्था आउन सक्छ,” उनी भन्छन्। यस्ता दस्ताले चन्दा आंतक मच्चाउने र विकास निर्माणमा संगठित अवरोध बढ्ने विश्लेषकहरू बताउँछन्।
माओवादी ‘फ्रस्टेसन’को उपज !
२०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी सबैभन्दा ठूलो दल थियो। माओवादी केन्द्र र एमालेले २०७५ मा एकीकरण गरेपछि बनेको नेकपा पनि संसद्मा सबैभन्दा ठूलो दल थियो। तर, गएको २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र तेस्रो दलमा खुम्चिएको छ।
माओवादी केन्द्र हिंसात्मक राजनीतिबाट यहाँसम्म आएको जगजाहेर छ। २०६४ सालको संविधानसभा चुनावमा हिंसा मच्चाएर र डर, त्रास देखाएर चुनाव जितेको आरोप लाग्ने गरेको छ। त्यसरी हिंसा मच्चाएको र त्रास देखाएको आरोप वाईसीएलमाथि नै थियो।
माओवादी केन्द्र हिंसात्मक राजनीतिबाट यहाँसम्म आएको जगजाहेर छ। २०६४ सालको संविधानसभा चुनावमा हिंसा मच्चाएर र डर, त्रास देखाएर चुनाव जितेको आरोप लाग्ने गरेको छ। त्यसरी हिंसा मच्चाएको र त्रास देखाएको आरोप वाईसीएलमाथि नै थियो।
अहिले सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र ब्युँतिए पनि संगठन पूर्ववत् रूपमा छैन। कमिटीहरू भद्रगोल छन्। कार्यकर्ता छरपस्ट छन्। संगठन र शक्तिमा भएको क्षयीकरणपछि पुनः फर्काउन वाईसीएल ब्युँताएर हिंसाको सहारा लिन खोजे जस्तो देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “वाईसीएल ब्युँताउने निर्णयले माओवादीमा चरम फ्रस्टेसन छ भन्ने देखाउँछ।” वाईसीएल ब्युँताए राजनीतिमा नकारात्मक प्रभाव पर्ने विश्लेषक आचार्य बताउँछन्। “जनताले प्रचण्डलाई पनि र वाईसीएललाई पनि चिनिसके, यस्तो संगठनले सकारात्मक नतीजा दिन्छ भन्ने मलाई लाग्दैन,” उनी भन्छन्।
वाईसीएलका सचिव पुष्प ओली भने सर्वोच्च अदालतले माउ पार्टी ब्युँताएकाले जनवर्गीय संगठन सक्रिय बनाउन राष्ट्रिय भेला गर्न लागेको बताउँछन्। भेला अगावै नयाँ सदस्यता विस्तार गर्ने योजना पनि रहेको उनले जानकारी दिए।