खनाल–नेपाल समूहको राष्ट्रिय भेलामा पार्टी विभाजन नगर्न सुझाव
एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाका बहुमत सहभागीले पार्टी विभाजन गर्न नहुने सुझाव दिएका छन्। केहीले भने अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिएर जानुपर्ने धारणा पनि राखेका छन्।
ललितपुरमा दुई दिनसम्म चलेको सम्मेलनमा बहुमत पक्षले विभाजन नगरी पार्टीभित्र बसेरै संघर्ष गर्न नेतृत्वलाई सुझाव दिएका छन्। लुम्बिनी प्रदेशका सांसद एवं माधव नेपाल पक्षीय नेता विष्णु पन्थीका अनुसार भेलामा सहभागीहरूले अहिले पार्टी विभाजन गर्न गलत हुने बताए।
“हामी पार्टी विभाजनको दिशामा जानु हुँदैन, यसले एमालेलाई मात्र नभएर देशलाई गम्भीर क्षति गर्छ, त्यसैले पार्टीभित्र बसेर संघर्ष गर्नुपर्ने सुझाव धेरैबाट आएको छ,” उनले भने।
केपी ओलीको पार्टीमा ज्यादती र अत्याचार बढेको हुनाले उनीसँग अलग भएर जानुपर्ने मत पनि उठेको उनले बताए। तर, पार्टी विभाजन गरेर अघि बढ्नुपर्छ भन्ने झिनो मत मात्र भएको उनको भनाइ छ। उनीहरूले पार्टीभित्र ओलीको ज्यादती र अपमान चरम अवस्थामा पुगेको बताएका थिए।
माधव पक्षीय युवा नेताहरू अध्यक्ष ओलीले पार्टीलाई एक बनाउन थोरै मात्र वातावरण बनाए पनि संघर्ष गर्नुपर्ने पक्षमा छन्। तर, वेदुराम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतले भने ओलीको ज्यादती बढी भएकाले सहेर बस्न नहुने पक्षमा मत राखेका छन्।
भेलापछि आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले आफूहरू अन्तिम समयसम्म पनि पार्टी एकताको पक्षमा रहने र आफूहरूको तर्फबाट पार्टी विभाजन नहुने बताए। “हामी अन्तिम समयसम्म पार्टी एकताको पक्षमा छौं,” भट्टराईले भने, “२०७५ जेठ २ गतेको केन्द्रीय कमिटीको बैठक र फागुन २३ गतेपछि गरिएका सबै निर्णय फिर्ता लिनुपर्ने हाम्रो बटमलाइन हो।”
ओलीले आगामी ७ चैतमा बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरू नजाने, तर संसदीय दलको बैठकमा भने जाने भट्टराईले स्पष्ट पारे। “अवैधानिक कमिटीको बैठकमा जाँदैनौं। उपयुक्त समयमा संसदीय दलको बैठकमा जान्छौं। केन्द्रीय कमिटिको बैठक गुटको बैठक हो,” उनले भने।