जसपा बैठक स्थगनमा कांग्रेस र माओवादी कारक
सरकार गठनका विषयमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले निर्णय लिन नसकेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समितिको बैठक स्थगित गरेको छ।
सत्ता गठबन्धनबारे निर्णय गर्न बिहीबारका लागि बोलाइएको जसपाको कार्यकारिणी समिति बैठक अन्तिम समयमा स्थगित भएको हो।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनबारे निर्णय नगर्दा बैठक स्थगित गर्नुपरेको जसपा नेताहरू बताउँछन्। जसपाका एक पदाधिकारी भन्छन्, “सरकारको नेतृत्व लिन कांग्रेस तयार नभइसकेको र माओवादी सरकारबाट फिर्ता हुने/नहुने पक्का नभएकाले हामीले बैठक सारेका हौं।”
जसपा अध्यक्ष उपेन्द्र यादव भने तयारी नपुगेर पूर्वनिर्धारित बैठक सार्नुपरेको बताउँछन्। उनी भन्छन्, “सम्पूर्ण तयारी गरेर बैठकको मिति तोक्छौं।”
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा जसपामा दुई धार देखिएको छ।
साबिक राष्ट्रिय जनता पार्टी (राजपा) का अधिकांश नेताहरू ओलीसँगै सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन्। साबिक समाजवादी पार्टीका नेताहरूले भने कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउन जोड दिइरहेका छन्। “कांग्रेस र माओवादीले कित्ता क्लियर गर्ने हो भने हाम्रो आन्तरिक द्वन्द्व पनि किनारा लाग्छ,” जसपाका एक पदाधिकारी भन्छन्।
प्रतिनिधि सभामा ३४ सांसद रहेको जसपाका नेताहरूले प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन्।
जसपा अध्यक्ष यादव संविधान संशोधन र रेशम चौधरी लगायतको रिहाइ गर्नेलाई आफ्नो पार्टीको समर्थन रहने बताउँछन्।