पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेल १०० नाघ्यो
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। योसँगै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू.१०० नाघेको छ।
निगमले प्रेस विज्ञप्ति जारी गरी मंगलबार मध्यरातदेखि पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर रू.२ का दरले मूल्यवृद्धि गरिएको जनाएकाे छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रू.११८ पुगेको छ।
त्यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर रू. १०१ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकको साबिक मूल्यमा रू. २ ले वृद्धि हुँदा प्रतिलिटर रू. ७४ पुगेको छ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने तत्कालका लागि यथावत् नै राखिएको छ। यस्तै, खान पकाउने ग्यासको मूल्य पनि यथावत् छ।
मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा रू.९.३५, डिजेलमा प्रतिलिटर रू.५.८० तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रू. ३९२.८२ घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। त्यस आधारमा अर्धमासिक रूपमा निगमलाई रू.१ अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको निगमले जनाएको छ।
यो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ। इन्डियन आयल कर्पोरेसनबाट मंगलबार प्राप्त भएको मूल्य अनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ।
यसअघि पेट्रोल प्रतिलिटर रू.११६, डिजेल र मट्टीतेल प्रतिलिटर रू.९९ मा बिक्री हुँदै आएको थियो। निगमले गत १७ फागुनमा पनि मूल्य बढाएको थियो।