पूर्ववत् अवस्थाको एमाले केन्द्रीय कमिटी बैठक बोलाउन गौतम समूहको माग
एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ‘नेकपा एमाले राष्ट्रिय एकता अभियान’को मंगलबार बसेको बैठकले २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयलाई अस्वीकार गर्दै पूर्ववत् अवस्थाको केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेको छ।
अभियानको बैठकले २८ फागुनको निर्णय खारेज गरेर पूर्ववत् अवस्थाको एमाले बैठक बोलाउन माग गर्ने निर्णय गरेको अभियानकी केन्द्रीय सदस्य इन्दिरा पन्तले जानकारी दिइन्। एमाले अध्यक्ष केपी ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको थियो।
उनका अनुसार बैठकले एमाले राष्ट्रिय एकता अभियानको आवश्यकता झन् बढेको भन्दै अभियानलाई जिल्ला तहमा विस्तार गर्ने निर्णय गरेको छ। “एमालेलाई एक बनाएर लैजाने विषयमा छलफल केन्द्रित भयो,” पन्त भन्छिन् “अहिले पार्टीमा विभाजन आउँदा दीर्घकालसम्म त्यसको असर पर्ने भएकाले जसरी पनि सबै पक्षलाई मिलाउनुपर्छ भन्नेमा सबैको जोड थियो।”
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने दुवै कदम गलत भएको निष्कर्ष पनि वामदेव समूहको छ।
बैठकमा उपस्थित केन्द्रीय सदस्यलाई गौतमले पार्टी विवाद मिलाउनका लागि गरिएका प्रयासबारे जानकारी गराएका थिए। सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेको जानकारी गराउँदै गौतमले २८ फागुनको निर्णय खारेज गरेर अघि बढ्न आफूले सझाव दिएको पनि बताएका थिए।