बर्मा प्रदर्शनः सुरक्षाकर्मीकाे गाेली प्रहारबाट थप ३८ प्रदर्शनकारीको मृत्यु
बर्मामा सैन्य शासनविरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएका छन्। सुरक्षाकर्मीको गोली लागेर आइतबार थप ३८ प्रदर्शनकारीको मृत्यु भएको छ।
सुरक्षाकर्मीले बर्माको मुख्य शहर यांगुनमा प्रदर्शनकारीमाथि गोली चलाएको हो। सुरक्षाकर्मीले गाडीबाटै गोली चलाइरहेका भिडियो सार्वजनिक भएका छन्। भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाइरहेको देखिन्छ।
प्रदर्शनकारीले चिनियाँ लगानीका व्यापारिक प्रतिष्ठानमा ढुंगामुढा गरेका छन्। चीनले बर्माको सैन्य शासनलाई सघाइरहेको उनीहरूको विश्वास छ।
चिनियाँ लगानीका व्यापारिक प्रतिष्ठानमा आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन्। सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि थप बल प्रयोग गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बर्माको प्रहरीले २१ प्रदर्शनकारीको मृत्यु भएको जनाएको थियो। तर, घाइते भएका थप १७ जनाको मृत्यु भएको रिपोर्ट बाहिर आएको छ। प्रदर्शनकारीलाई सघाइरहेको ‘एसिस्टेन्ट एसोसिएसन अफ पोलिटिकल प्रिजनर्स (एएपीपी)’ले ३८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाएको छ। एएपीपीका अनुसार घाइतेहरूमध्ये थुप्रैको अवस्था गम्भीर रहेको छ।
१९ माघमा सेनाले जननिर्वाचित सरकारलाई हटाएर सत्ता हातमा लिएको थियो। सैन्य सरकारले नेत्री आङ सान सु चीसहित अन्य नेता र मन्त्रीहरूलाई पनि नियन्त्रणमा लिएको थियो। उनीहरूलाई अझै छोडेको छैन।
सेनाले सत्ता हातमा लिएयता बर्मामा दैनिक प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गर्दा कैयौंको ज्यान गएको छ। तथापि प्रदर्शन रोकिएको छैन, झन्झन् बढ्दै गएको छ।
प्रदर्शनकारीले प्रजातन्त्र पुनःबहाली र नेत्री सु चीलाई रिहा गर्न माग गरिरहेका छन्।
सन् २०११ देखि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि सेनाले सत्ता हातमा लिएको हो। सेनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी सन् १९६२ देखि २०११ सम्म शासन चलाएको थियो।