गृहमन्त्री थापासहित ७ मन्त्रीलाई सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन
नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापासहितका ७ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गर्दा माधवकुमार नेपाल र पुष्पकमल दाहाल पक्षका केही मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि ११ पुसमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा आएका नेपाल–दाहाल पक्षका केही मन्त्री थपेका थिए।
सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो भने २३ फागुनमा नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय पनि बदर गरेको थियो। जसले गर्दा एमाले र माओवादी अलग दल बनेका थिए।
अहिले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, आपूर्तिमन्त्री लेखराज भट्ट, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन्। उनीहरू माओवादी केन्द्रका भए पनि ओलीलाई साथ दिँदै आएका छन्।
प्रधानमन्त्री ओलीले २८ फागुनमा बोलाएको केन्द्रीय कमिटी बैठकले गृहमन्त्री थापासहित २३ जनालाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन।
माओवादीले एमालेको केन्द्रीय सदस्यमा मनोनीत २३ जना नेतालाई स्पष्टीकरण सोधेको छ। माओवादी स्थायी कमिटी बैठकले उनीहरूलाई २४ घन्टाभित्र पार्टीमा फर्किने वा दल त्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको छ। उनीहरूले २४ घण्टाभित्र स्पष्टीकरण नदिए कारबाही गरिने माओवादीले जनाएको छ।
यससँगै माओवादी स्थायी कमिटी बैठकले १ चैतमा केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। यसअघि बोलाइएको राष्ट्रिय भेला भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।