एमाले र जसपा नेता भन्छन्- सत्ता साझेदारीका लागि वार्ता सकारात्मक
सत्ता साझेदारीका लागि नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच भएको वार्ता सकारात्मक भएको दुवै दलका नेताहरूले बताएका छन्।
दुवै दलका शीर्ष नेताबीच २७ फागुन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो। वार्तामा जसपाले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लगायतका मागमा दुई दलबीच छलफल भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार वार्ता सकारात्मक भएको र शुक्रबार पनि कार्यदलस्तरमा वार्ता जारी रहनेछ। कार्यदलमा एमालेबाट सुवास नेम्वाङ र डा. राजन भट्टराई तथा जसपाबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण रहेका छन्।
जसपा नेताहरूले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र कार्यदल तहमा थप विचार विमर्श हुने बताए।
जसपाले उठाएका मागमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सकारात्मक रहेको बताएको नेता कर्णको भनाइ छ। कार्यदलस्तरमा थप छलफल गर्ने गरी बिहीबारको बैठक सकिएको उनले बताए।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई सहभागी थिए।
सर्वोच्च अदालतले नेकपाको एकीकरण गर्ने निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन्। माओवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने भएको छ।
त्यसैले सत्ता साझेदारीका लागि एमाले नेताहरूले जसपालाई प्रस्ताव गरेका हुन्। उता, कांग्रेस र माओवादी केन्द्र पनि जसपासँग मिलेर सरकार गठन गर्ने गृहकार्यमा जुटेका छन्।