नारायणगढ-मुग्लिन सडक आजदेखि एक साता दिउँसो बन्द गरिँदै
नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि एक साता दिउँसो बन्द गरिने भएको छ। पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि दिउँसो सडक बन्द गर्न लागिएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार यो सडकखण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका काम बाँकी छ। त्यसलाई सम्पन्न गर्न आजदेखि २९ गतेसम्म दिउँसो यातायात बन्द गरिने आयोजनाका इन्जिनियर सविना रानाभाटले बताइन्।
यो सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द गरिने इन्जिनियर रानाभाटले बताइन्। उनका अनुसार अत्यावश्यक सेवाका सवारी साधन भने आवतजावत गर्ने व्यवस्था मिलाइएको छ।
गत असार पहिलो साता पहिराले बगाएको क्षेत्रमा काम गरिन लागेको छ। यो सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ।
यो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिनेछ।
यो एक साता वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ-मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ। वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरूले लेन अनुशासन पालना गरी अपराह्न ३ बजेसम्म पर्खनुपर्नेछ।