प्रतिनिधि सभाको अधिवेशनकै दिन नेकपा विवादको फैसला आउने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई लिएर भएको विवादमा सर्वोच्च अदालतले २३ फागुनमा निर्णय सुनाउने भएको छ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि निर्वाचन आयोगले एकीकृत पार्टीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम उपलब्ध गराएको थियो। त्यसविरुद्ध निर्वाचन आयोगमा पहिलेदेखि नै दर्ता भएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल सर्वोच्च अदालत गएका थिए।
करीब दुई वर्षमा दुवै पक्षको बहस सुनेर सर्वोच्च अदालतले १३ फागुनमा निर्णय सुनाउने दिन तय गरेको थियो। जसअनुसार २० फागुनमा निर्णय सुनाउने भनिएकोमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा गरिएपछि २३ फागुनलाई सरेको हो।
१८ फागुन साँझ सिंहको निधन भएपछि १९ फागुनमा बसेको फुल कोर्टले शोक प्रस्ताव पारित गर्दै २० फागुनमा देशभरका अदालत बिदा गर्ने निर्णय गरेको थियो। जसका कारण नेकपाको नामलाई लिएर भएको विवादमा निर्णय सुनाउने दिन पछाडि सरेको हो।
अब २३ फागुनमा नेकपा नामको विवादमा निर्णय सुनाउने गरी ताेकिएकाे सर्वाेच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले हिमालखबरलाई बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएको थियो। जसअनुसार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २३ फागुन दिउँसो ४ बजे प्रतिनिधि सभा अधिवेशन बोलाएकी छन्। संयोगवश सर्वोच्च अदालतले नेकपा विवादमा त्यसैदिन निर्णय सुनाउने मिति तय गरेको छ।