उद्घाटन र शिलान्यासमा प्रधानमन्त्रीको दौडधुप, ठेक्का सम्झौता नहुँदै सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गरेका छन्। सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा बिहीबार एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले आयोजनाको शिलान्यास गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमाले प्रयास गरिरहेका बेला ओलीले हतारोमा आयोजनाको शिलान्यास गरेका हुन्। यो आयोजनाको ठेक्का सम्झौता भइसकेको छैन। चाइना ओभरसिज इन्जिनीयरिङ कम्पनीलाई ठेक्काको आशयपत्र जारी गरिए पनि सम्झौता हुन बाँकी छ। जलस्रोत तथा सिंचाइ विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले छिटै सम्झौता गरिने बताए। “१२ फागुनमै आशयपत्र जारी भइसकेको छ, अब छिटै सम्झौता गरेर निर्माणको काम अगाडि बढाउँछौं,” उनले भने।
चाइना ओभरसिज इन्जिनीयरिङ कम्पनीले रु.१० अर्ब ६ करोडमा लाखमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्न प्रस्ताव राखेपछि यसलाई आशयपत्र जारी गरिएको थियो। यो अनुमानित लागतको करीब एक तिहाइ थोरै हो। सुरुङ निर्माण गर्न मागिएको बोलपत्रमा प्रस्ताव पेश गर्नेमध्ये चार कम्पनी पूर्व योग्यता मूल्यांकनमा छनोट भएका थिए। सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्न शुरू गरेको २७ महीनामा सकिने अनुमान गरिएको छ।
आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम) ले खन्नेछ। यद्यपि, सुरुङ खन्न शुरू हुन भने अझै कम्तीमा एक वर्ष कुर्नुपर्छ। आयोजनामा प्रयोग हुने टीबीएम बनाउन करीब एक वर्ष लाग्ने अनुमान छ। विदेशमा निर्माण हुने यस्तो विशाल उपकरण ठेकेदारले टुक्राटुक्रा गरी ल्याएर जडान गरेपछि सुरुङ खन्न शुरू हुनेछ।
चाइना ओभरसिज इन्जिनीयरिङ कम्पनीले रु. १० अर्ब ६ करोडमा लाखमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्न प्रस्ताव राखेपछि यसलाई आशयपत्र जारी गरिएको थियो। डाइभर्सनको सुरुङ खन्न शुरू गरेको २७ महीनामा सकिने अनुमान गरिएको छ।
सुनकोशी–मरिन टीबीएम प्रयोग गर्न लागिएको नेपालको दोस्रो आयोजना हो। यसअघि, भेरी–बबई बहुउद्देश्यीय आयोजनामा पनि टीबीएम प्रयोग गरी डेढ वर्षमै १२ किमी सुरुङ खनिएको थियो।
मध्य–तराईका आठमध्ये पाँच जिल्लाको कृषि उत्पादनमा कायापलट गर्ने आयोजनाका रूपमा करीब एक दशकअघिदेखि सुनकोशी–मरिन आयोजनाको चर्चा हुँदै आएको थियो। आयोजनाले सिन्धुलीको खुर्कोटभन्दा डेढ किलोमिटर उत्तर–पश्चिमबाट १३ किलोमिटर लामो सुरुङ मार्फत सुनकोशीको पानी बागमती नदीको सहायक, मरिन खोलामा खसाल्छ।
उद्घाटन र शिलान्यासको दौडधुप
प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेयता देशभरि विकास परियोजनाहरूको शिलान्यास र उद्घाटनको दौडधुपमा व्यस्त छन्। १८ फागुनमा उनले गृहजिल्ला झापाको बिर्तामोड पुगेर पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका थिए। बिर्तामोडमा उनले एकीकृत बस्तीको उद्घाटन पनि गरेका थिए। १६ फागुनमा उनले झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका थिए। सोही अवसरमा उनले मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने २५ वटाभन्दा बढी पुलको एकै पटक शिलान्यास गरे।
यसअघि उनी शिलान्यास र उद्घाटनका लागि धनुषा, बुटवल, दाङ, रूपन्देही, कास्की, कञ्चनपुर आदि जिल्ला पुगेका थिए।
१७ फागुनमा पोखरा पुगेर उनले प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गरेका थिए। त्यसअघि, १० फागुनमा कञ्चनपुर पुगेर दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए।
३ फागुनमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुन:निर्माण सम्पन्न भएका सिंहदरबारका तीन वटा मोहडाको उद्घाटन गरेका थिए। १ फागुनमा उनले बुटवल पुगेर हिलस्टेसन सहितको केबलकार शिलान्यास गरेका थिए। यसअघि, ९ माघमा धनुषाको ढल्केबरस्थित ढल्केबर–मुजफ्फरपुर विद्युत् प्रसारण लाइन अन्तर्गतको ४०० केभीए प्रसारण लाइन उद्घाटन गरेका थिए। १७ माघमा चितवनमा सिटीहल तथा ११ माघमा दाङ पुगेर पुलको उद्घाटन गरेका थिए। झन्डै एक वर्षयता प्रधानमन्त्री कार्यालय सिंहदरबार नपुगेका प्रधानमन्त्री ओली राजनीतिक उद्देश्यसहित देशैभरिका कार्यक्रममा पुगिरहेका छन्।