चन्द समूह र सरकारबीच तीन बुँदे सहमति
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको छ।
बिहीबार सरकार र नेकपाको वार्ता टोलीले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपाको वार्ता टोलीका प्रमुख खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले हस्ताक्षर गरेका छन्।
सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ।
त्यस्तै, सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने सहमति भएको छ।
सहमतिको विस्तृत विवरण शुक्रबार (२१ फागुन) दिउँसो २ बजे विशेष समारोह आयोजना गरेर सार्वजनिक गरिने भएको छ। समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका छन्।