सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सम्पन्न, 'वार्ता सकारात्मक दिशातर्फ'
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ।
दुवै पक्षको वार्ता टोलीबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको हो। सरकारी वार्ता टोलीका सदस्य, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीट गर्दै वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।
विभिन्न चरणको अनौपचारिक छलफल र संवादपछि दुवै पक्ष वार्तामा बस्न तयार भएका थिए। सरकारले मंगलबार (१८ फागुन) गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरेको थियो। यस्तै, चन्द समूहले पनि खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने रहेको वार्ता टोली बनाएको थियो।
अराजक तथा हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै चन्द नेतृत्वको नेकपालाई सरकारले लगाएको प्रतिबन्ध कायमै छ। वार्ताअघि उक्त समूहले पार्टीमाथिको प्रतिबन्ध फुकुवा, थुनामा परेका नेता-कार्यकर्तालाई रिहाइ लगायत शर्त राखेको थियो।