संरक्षणमा फड्को : गैँडा गस्तीदेखि बाघ बचाउसम्मको यात्रा
नेपालको अहिलेसम्मको संरक्षण यात्रा विश्वका लागि उदाहरणीय त छ नै, अब अनुकरणीय र दिगो बनाउन विकास निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा न्यूनतम क्षति र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी पाइला चाल्नुपर्छ।
रुसको सेन्टपिटर्सबर्गमा बाघ पाइने १३ वटा देशका राष्ट्रप्रमुख र प्रतिनिधिको सन् २०१० मा भएको ‘ग्लोबल टाइगर्स समिट’ले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य सार्वजनिक गर्यो। यो महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न सबै देश लागिरहेका भए पनि नेपाल भने नजिक पुगेको छ। बाघ मात्रै होइन, अन्य वन्यजन्तुको संरक्षणमा पनि नेपालले फड्को मारेको छ। गैँडाको गस्तीदेखि बाघ बचाउसम्मको यो संरक्षण यात्रा कम्ता रोचक छैन।
उसो त भौगोलिक हिसाबले सानो र भूपरिवेष्टित मुलुक भए तापनि प्राकृतिक सम्पदा र जैविक विविधताले सम्पन्न छ। यही सम्पन्नता अर्थात् वन्यजन्तु र पारिस्थितिकीय प्रणाली जोगाउन नेपालले गरेको प्रयत्नलाई विश्व समुदायले पनि मुक्तकण्ठले प्रशंसा गरेको छ। यो यात्रा भने वन्यजन्तु, वासस्थान, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीलाई संरक्षण, संवद्र्धन, वैज्ञानिक व्यवस्थापन र उचित सदुपयोग गर्नका लागि २०३७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापनासँगै अघि बढ्यो।
२०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नै नेपालको पहिलो निकुञ्ज हो। हाल २० वटा संरक्षित क्षेत्र छन्। नेपालको ३४ हजार ४३७ वर्गकिलोमिटर अर्थात् २३.४ प्रतिशत भूभाग यिनै संरक्षित क्षेत्रले ओगटेका छन्। यसमा संरक्षित क्षेत्र १९.५ र मध्यवर्ती क्षेत्र ३.९ प्रतिशत छ। संसारकै सबैभन्दा उच्च हिमशृंखलादेखि तराईको समथर भूभागसम्म विभिन्न भौगोलिक विभाजनअन्तर्गत विस्तारित यी संरक्षित क्षेत्रहरूमा ११८ पारिस्थितिकीय प्रणालीमध्ये ८० वटा प्रणाली पर्छन्।
नेपालमा संरक्षण मोडालिटीको विकासक्रम
नेपालमा संरक्षणको इतिहास रमाइलो छ। सन् ६० को दशकमा नै गैँडा गस्तीबाट संरक्षण कार्यको शुरूआत गरिएको थियो। पछि, सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै कानूनी रूपमा संरक्षण कार्य अघि बढ्यो। सन् ९० को दशकसम्म वन्यजन्तुमा मात्र सीमित भएको संरक्षण कार्य सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र घोषणासँगै संरक्षण र समुदायसँगै भन्ने अवधारणा अघि बढ्यो। समुदाय र संरक्षणको अवधारणा सफल भएपछि मध्यवर्ती क्षेत्रको अवधारणा आयो जुन विश्वमै पहिलो हो।
समुदाय र संरक्षणको अवधारणा सफल भएपछि मध्यवर्ती क्षेत्रको अवधारणा आयो जुन विश्वमै पहिलो हो।
त्यसपछि सन् १९९५ तिर संरक्षित क्षेत्रमा विभिन्न नयाँ नयाँ वैज्ञानिक अवधारणाको शुरूआत भयो। सन् २००० पछि त ठूलो क्षेत्रमा विचरण गर्ने वन्यजन्तुको वासस्थानको वैज्ञानिक अनुसन्धान गर्दा अलग–अलग रहेका निकुञ्जमा मात्रै नभई अविच्छिन्न जंगल हुँदै नेपालको बागमती नदीदेखि भारतको यमुना नदीसम्म तराईका सबै संरक्षित क्षेत्रलाई जोड्दै तराई भूपरिधि (२४,७१० वर्ग किमि) अवधारणा आयो। यो अवधारणालाई दुवै देशले अपनाएपछि हिन्दूकुश हिमालय क्षेत्रमा भौगोलिक विभिन्नता अँगालेर भूपरिधिस्तरीय कार्यक्रमहरू जस्तैः कैलाश, चितवन, अन्नपूर्ण, कञ्चनजंघा, भारतमा नर्थ ब्यांक, काजिरंगा, कार्बिग्लोंग तथा भुटान बायोलोजिकल कोरिडोर आदि सञ्चालनमा आए। यसले संरक्षणमा झन् टेवा पुर्यायो।
वन्यजन्तुहरूः नेपालले पृथ्वीमा भएकाे जमिनकाे ०.१ प्रतिशत भूभाग ओगटे पनि यो ३ प्रतिशत वनस्पति र १ प्रतिशत जीवको वासस्थान छ। नेपालको जैविक विविधताको प्रोफाइलमा जनाइएअनुसार यहाँ २०८ प्रकारका जीव, ८६७ प्रकारका चरा, १२३ प्रकारका घस्रने जीव, ५५ भन्दा बढी उभयचर, विभिन्न नदीमा पाइने २३० प्रकारका माछा, ६५१ प्रकारका पुतली पाइन्छन्।
नेपालको भौगोलिक विविधता अनुरूप, छोटो दूरीमै विविध हावापानीमा पाइने विभिन्न वन्यजन्तुको विविधतासँगै यहाँ मात्रै पाइने २८४ जातिका फुल्ने वनस्पति, १६० जातका जन्तुहरू, एउटा स्तनधारी र एउटा चरा नेपालका शान हुन्।
पाटे बाघः नेपालले अन्तर्राष्ट्रिय जगत्मा प्रतिबद्धता गरे अनुरूप सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य अहिले नै पुगिसकेको छ। क्यामेरा ट्र्याप प्रविधिबाट प्राप्त सन् २०१८ को प्रतिवेदन अनुसार हाल नेपालमा पाटे बाघको संख्या २३५ छ। जसअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, चितवन राष्ट्रिय निकुञ्जमा ९३ र पर्सा राष्ट्रिय निकुञ्जमा १८ बाघ छन्।
नेपालमा पाटे बाघ बासस्ठान कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहटको केही क्षेत्र हुन्। हालै आएर पाटे बाघ चुरेलाई छिचोलेर डडेल्धुरा (२५०० मि.) र इलाम (३१६५ मि.) को उचाइसम्म पाइएको छ।
नेपालमा पाटे बाघ विभिन्न निकुञ्जमा रहेको भए पनि यसको वासस्थान तराईका विभिन्न जिल्लाहरू जस्तैः कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा, रौतहटको केही क्षेत्र हुन् । त्यहाँ निरन्तर बाघले विचरण गरेको पाइन्छ। हालै आएर पाटे बाघ चुरेलाई छिचोलेर डडेल्धुरा (२५०० मि.) र इलाम (३१६५ मि.) को उचाइसम्म पाइएको छ।
हालै गरिएको एक अनुसन्धानबाट भविष्यमा बाघको वासस्थान र विचरण क्षेत्र पर्याप्त मात्रामा उत्तरतिर नदी कोरिडोर र अविच्छिन्न जंगलको विस्तार हुँदै महाभारत श्रेणीसम्म जाने देखिएको छ। त्यस्तै, पूर्वमा उदयपुरको त्रियुगा नदी र सिन्धुलीको दक्षिणी भूभाग जुन कमला र मरिन नदीसँगैको चुरे श्रेणीसँगको घना जंगलसम्म देखिएको छ।
संरक्षणमा मिलेको सफलताले नै बाघको संख्या पनि बढ्दै आएको छ। सन् १९९८ मा जम्मा बाघको संख्या ९८ मात्र रहेकोमा २००० मा १०९ पुगेको थियो। २००५ मा १२६, २००९ मा १२१, २०१३ मा १९८ हुँदै २०१८ मा २३५ पुगेको छ।
एकसिंगे गैँडाः कुनै समय नेपाल, भारत, पाकिस्तान, भुटान र बाङ्लादेशमा विभिन्न नदी किनारको घाँसे मैदानमा पाइने यसको हाल वितरण खुम्चिएर नेपाल, भारत र भुटानमा सीमित छ। नेपालमा चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गैँडा बेलाबखत रौतहट र सर्लाहीको मुर्तिया जंगलसम्म पुगेको पाइएको छ। नेपालमा एकसिंगे गैँडाले ३०० मिटरदेखि १,००० मिटरसम्मको उचाइ भएको भूभागमा विचरण गरेको पाइएको छ। काँस (स्याचुरम स्पोन्टेनियम) भएको मैदान चरणका लागि उपयुक्त हुन्छ।
सन् १९५० मा नेपालमा ८०० को हाराहारीमा गैँडा थिए। त्यसको १६ वर्षपछि १०० मा झरेका थिए। बिस्तारै गैँडा गस्ती तथा वन्यजन्तु संरक्षणका कार्यमा सबैको प्रभावकारी सहभागिताले सन् २००० मा ६१२ संख्या पुगेको थियो। तर, सशस्त्र द्वन्द्वका कारण देशमा संकटकालको अवस्था, निकुञ्जभित्र सुरक्षा पोस्टहरूको संख्या घटेर थोरैमा सीमित भएपछि सन् २००२ मा चोरी शिकारले ३८ वटा गैँडा मारिएका थिए। सन् २००५ गैँडा गणना गर्दा संख्या ४०९ मा झर्यो।
त्यसपछि आधुनिक प्रविधि, चौबीसै घन्टा, सातै दिन, निकुञ्जका कर्मचारी र नेपाली सेनाको प्रभावकारी गस्तीले गर्दा फेरि गैँडाको संख्या निरन्तर उकालो लागेको छ। सन् २०१५ को गणनाले नेपालमा गैँडाको संख्या ६४५ पुगेको देखाएको छ। यसै वर्षको मार्च महिनामा गरिने गैँडा गणनाले फेरि हामीलाई खुशी दिलाउनेछ।
गैँडाले मन पराउने वासस्थान भनेको छोटो घाँसे मैदान, नदी तटीय जंगल, घोल, पोखरी, दलदले मैदान नै हुन्, जुन राप्ती, नारायणी, बबई, कर्णाली र महाकाली नदी तटीय घाँसे मैदान र निकुञ्जभित्रका विशाल घाँसे मैदान हुन्।
नेपालको चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेको एकसिंगे गैँडालाई बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विभिन्न समयमा स्थानान्तरण गरिएको छ। योे गैँडाको वासस्थानमा विविधीकरण र गैँडालाई जोगाइरख्न गरिएको वैज्ञानिक प्रयत्न हो। गैँडाले मन पराउने वासस्थान भनेको छोटो घाँसे मैदान, नदी तटीय जंगल, घोल, पोखरी, दलदले मैदान नै हुन्, जुन राप्ती, नारायणी, बबई, कर्णाली र महाकाली नदी तटीय घाँसे मैदान र निकुञ्जभित्रका विशाल घाँसे मैदान हुन्।
हिउँ चितुवा: विश्व जगत्मा नेपालको अर्को पहिचान भनेको हिउँ चितुवा हो। नेपालको उच्च हिमाली क्षेत्रमा २५०० देखि ५००० मिटरको उचाइमा पाइने हिउँ चितुवा ३०० देखि ५०० को संख्याको हाराहारीमा छ। धेरै लजालु किसिमको यसको वासस्थान र रंग उस्तैउस्तै हुने भएकाले नजिकैबाट मात्रै पहिचान गर्न सकिन्छ।
नेपालको पूर्वी हिमाल कञ्चनजंघा संरक्षण क्षेत्रदेखि पश्चिमको अपिनाम्पा संरक्षण क्षेत्रसम्म यो पाइन्छ। मकालु वरुण, सगरमाथा, गौरीशंकर, लाङटाङ, मनास्लु, अन्नपूर्ण, ढोरपाटन, शे–फोक्सुण्डो, रारा, खप्तड हुँदै हुम्लाका विभिन्न भागमा यसको वासस्थान फैलिएको छ।
जलवायु परिवर्तनले हिउँ चितुवाको वासस्थान र विचरणमा पर्न सक्ने प्रभावको अनुसन्धानबाट के देखिएको छ भने नेपालमा हिउँ चितुवाको वासस्थान पूर्वभन्दा पश्चिममा राम्रो रहेको छ। पूर्वमा धेरै भौगोलिक कठिनाइ र जंगलको विस्तारले वासस्थान खुम्चिँदै गएको छ। हामीले गरेको यो अनुसन्धानले हिमाली भेगमा तीव्र गतिमा जंगलको विस्तार र हिउँ रहने स्थानहरू बिस्तारै घट्दै गएको छ।
हाब्रे (रेडपान्डा): नेपालको अर्को सुन्दर वन्यजन्तु हाब्रे हो। यसको वासस्थान नेपालको २४०० मिटरदेखि ४००० मिटरसम्म रहेको पाइन्छ। यसको वासस्थान नेपालको पूर्वी महाभारत शृंखलादेखि पश्चिमसम्म रहेको छ। तर, यसको वितरण नेपालमा अविच्छिन्न नभई पकेट क्षेत्रमा रहेको छ।
वन्यजन्तु र जंगलको आँकडाको सुई अविच्छिन्न उकालोतिर बढ्दै छ र हामी अरू देशका लागि उदाहरणीय रूपमा प्रस्तुत भएका छाैं।
हाब्रेको मुख्य वासस्थान र आहारा भनेको मालिंगो हो र बाँस प्रजाति र बुढा रूखहरू भएको क्षेत्र हो। जलवायु परिवर्तनको प्रभाव यसको वासस्थानमा पनि पर्ने भएकाले अति नै जोखिममा छ। नेपालको ३६ जिल्लामा वासस्थान रहेको हाब्रेको संख्या ८०० देखि १००० सम्म रहेको अनुमान छ। हाब्रेको वासस्थान नेपालदेखि भुटानसम्म विस्तार भएको पाइएको छ।
अन्त्यमा नेपालले संरक्षणको क्षेत्रमा ठूलो फड्को मारेको छ र संरक्षणको चुनौतीलाई अवसरका रूपमा लिएको छ। नेपालले संरक्षणमा एकपछि अर्को गर्दै सफलताका कार्यहरू विश्वसामु प्रस्तुत गरेको छ। वन्यजन्तु र जंगलको आँकडाको सुई अविच्छिन्न उकालोतिर बढ्दै छ र हामी अरू देशका लागि उदाहरणीय रूपमा प्रस्तुत भएका छाैं।
नेपाल विकासको चरणमा भएकाले संरक्षणमा अझ सतर्कता अपनाउनुपर्ने जरुरी छ। विकासका काम अवैज्ञानिक तबरले भइरहेकाले हाम्रा यी जीवजन्तुको विचरण गर्ने क्षेत्र, वासस्थानमा निरन्तर हानि–नोक्सानी पुग्दै आएको छ। अब विकासको काम गर्दा वन्यजन्तुको वासस्थानको न्यूनतम क्षति हुने गरी अघि बढेमा मात्रै संरक्षणको गति रोकिने छैन। यससँगै संरक्षण क्षेत्रको संरक्षण गरेबापत स्थानीय समुदायले पहिलो लाभ लिन सक्नुपर्छ, जसले गर्दा संरक्षण कार्य दिगो र उदाहरणीय अनि अनुकरणीय हुनेछ।
(डा.थापा डब्लूडब्लूएफ नेपालका भौगोलिक सूचना प्रणाली प्रमुख हुन्।)