देशकै ठूलो सौर्य प्लान्ट सञ्चालन, केन्द्रीय प्रसारणमा जोडिँदै
नुवाकोटस्थित देशकै ठूलो साैर्य प्लान्ट सञ्चालनमा आएको छ। यस प्लान्टबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोडिन थालेको छ।
यस प्लान्टको क्षमता २५ मेगावाट छ। जसमध्ये अहिले १० मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले बताए। “परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ,” रघुवंशीले भने।
परीक्षणका रूपमा यो प्लान्टबाट उत्पादित बिजुली केन्द्रीय प्रसारणमा जोडिन थालेको उनले बताए। अहिले परीक्षण सफल भइरहेको उनको भनाइ छ।
आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ। यहाँबाट उत्पादन भएको विद्युत् देवीघाट जलविद्युत् केन्द्रको प्रसारण प्रणालीमार्फत सीधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याएको छ। अबको केही दिनमा थप ५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान विदुर–१ र २ गरेर थप पाँच स्थानमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको रघुवंशीले बताए।
त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुगेकाले एक महीनाभित्रै ५ मेगावाट विद्युत् थप हुने देखिएको छ। थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिए। “यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ। यसले विद्युत् सङ्कट बढाउन सक्ने देखिन्छ,” शाक्यले भने, “अभाव पूरा गर्नका लागि वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ।”
दुई चरणअन्तर्गत थप ६ महीनाभित्र आयोजना पूरा गरेर विद्युत् उत्पादन थाल्ने लक्ष्य भएकाले त्यसलाई पूरा गर्न सकिने आयोजना प्रमुख रघुवंशीले बताए। यो आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ले गरिरहेको छ। यसका लागि रु.३ अर्ब ८० करोड जति लाग्ने प्रक्षेपण गरिएको छ। याे आयोजना विद्युत् उत्पादनका लागि महङ्गो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ। (रासस)