कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
कोरोना भाइरसको महामारीले कोरोनासँग सोझै सम्बन्धित बाहेकका औषधिको खपत घटेको छ, आयातमा पनि कमी आएको छ।
गत वर्ष चैतदेखि सरकारले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरण गर्न गरेको बन्दाबन्दीपछि दैनिक गतिविधि घटेको र त्यसको प्रभाव स्वरूप औषधिको खपत पनि कम हुन पुगेको औषधि व्यवसायी बताउँछन्।
सबै मानिस घरभित्रै बसेको र कोभिड संक्रमण हुनसक्छ भनेर अपनाएको सचेतनाका कारण अरू रोग पनि कम लागेकाले औषधिको खपत नै कम हुन पुगेको देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा बताउँछन्। “कोभिड लागेपछि सबै औषधि कम्पनीको उत्पादन र खपत पनि घट्यो भने बाहिरबाट आउने औषधि पनि कम भयो,” उनी भन्छन्।
त्यस्तै, विदेशबाट औषधिको आयात पनि घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार, चालू आर्थिक वर्ष २०७७/७८ को सात महीनामा रु.१५ अर्ब ९२ करोड ५८ लाख ४० हजारको औषधि आयात भएको छ। यो गत वर्षको तुलनामा १४.३४ प्रतिशतले कमी हो। गत आर्थिक वर्षको सोही अवधिमा रु.१८ अर्ब ५९ करोड ९० लाख ५९ हजारको औषधि आयात भएको थियो।
विभागले औषधिको आयातबाट यस वर्ष रु.८० करोड ७८ लाख ४१ हजार राजस्व संकलन गरेको छ। गत वर्षको यही अवधिमा औषधि आयातबाट रु.९१ करोड ३३ लाख ६० हजार राजस्व संकलन गरेको थियो।
विभागका अनुसार नेपालमा विभिन्न ४९ वटा शीर्षकमा औषधि आयात हुन्छ। गत सात महीनामा संसारका १४८ मुलुकबाट ३५४ पटक औषधि आयात गरिएको छ। एउटै प्रयोजनका र नामबाट धेरैवटा औषधि आउने भएकाले कुन औषधि बढी आयो भनेर तथ्यांकमा भन्न नसकिने भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे बताउँछन्। “विभागले राख्ने तथ्यांकमा सबै देशबाट आउने औषधि हुनेगर्छ,” घिमिरे भन्छन्, “एन्टिबायोटिक औषधि भन्यो भने सबै प्रकारका एन्टिबायोटिक सोही सूचीमा पर्छन्।”
“स्वदेशमै ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्न सकिन्छ, केही वर्षमै औषधिमा आत्मनिर्भर हुन सकिन्छ”
अहिले नेपालमा उत्पादन हुने र नहुने तथा महँगा औषधि बाहिरबाट आइरहेका छन्। नेपालमै उत्पादन हुने औषधिलाई प्रयोग गर्ने र प्रवर्द्धनको नीति लिने हो भने औषधिमा विदेशिने मुद्रा जोगाउन सकिने औषधि व्यवसायी बताउँछन्।
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल औषधिको बजार बढाउने काम गरिएको भए पनि सरकारबाट प्रवर्द्धन नभएको बताउँछन्। “स्वदेशमै ७० देखि ८० प्रतिशत औषधि उत्पादन गर्न सकिन्छ, केही वर्षमै औषधिमा आत्मनिर्भर हुन सकिन्छ,” उनी भन्छन्। तर, सरकारले नेपाली कम्पनीलाई प्रवर्द्धन नगर्दा विदेशी औषधिको बजार बढिरहेको उनको भनाइ छ।
नेपालमा हरेक वर्ष १५० वटा नयाँ औषधि आइरहेका हुन्छन्। विभिन्न मुलुकमा बनेका, नयाँ कम्पनीले उत्पादन गरेका र एउटै रोगको पनि फरक–फरक कम्पनीका उत्पादन आउने गरेका छन्।
६० अर्बको औषधि बजारमा, आधा हिस्सा विदेशकै
नेपालमा वार्षिक रु.६० अर्बको औषधि कारोबार हुने गरेको छ। यसमध्ये आधाभन्दा बढी औषधि विदेशबाट आयात भइरहेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा रु.२८ अर्ब १८ करोड २५ लाख १८ हजारको औषधि आयात भएको थियो।
नेपालले वार्षिक रु.६ अर्ब जतिको कच्चा पदार्थ आयात गर्दै आएको छ। त्यसबाट रु.३० अर्बसम्मको औषधि उत्पादन हुने गरेको पूर्वअध्यक्ष दाहाल बताउँछन्।
नेपाली औषधिको खपत बढ्दै गएको र नेपाली उत्पादकले बजार विस्तार गरेकाले पनि विदेशबाट आयात घटाउन सहयोग गरेको उनी बताउँछन्। “औषधिको आयात बिस्तारै घट्दै जान थालेको छ भने आगामी वर्ष अझै घटाउने गरी नेपाली औषधि उद्योगले उत्पादन बढाइरहेका छन्,” दाहाल भन्छन्।
औषधि व्यवस्था विभागबाट हाल १०४ वटा नेपाली कम्पनीले औषधि उत्पादनको अनुमति लिएका छन्। यीमध्ये ६४ वटा उद्योगले नेपालमा औषधिको उत्पादन गरिरहेका छन्। अझै १० देखि १२ वटा नयाँ कम्पनी आउने क्रममा छन्।