चन्द नेतृत्वको नेकपाका तीन जना पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्ता पक्राउ परेका छन्। आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय रामनाथ मण्डल (आदर्श) सहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
पक्राउ पर्ने अन्यमा सिरहा/सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।
उनीहरूको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेसी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको १६ असार २०७७ को पर्चा र चार थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।
सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्ने र धम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
(रासस)