नेकपाको प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, विशाल भट्टराई नियुक्त
नेकपाको ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। भट्टराई खोटाङबाट निर्वाचित सांसद हुन्।
नेकपा विभाजित भएपछि पुष्पकमल दाहाल र माधव नेपाल समूहले यसअघि संसदीय दलको नेतामा दाहाललाई निर्वाचित गरेको थियो। तर, नेकपाको विभाजनले कानूनी मान्यता नपाएकाले संसदीय दल एउटै छ।
३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओलीले संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङलाई नियुक्त गरेका थिए।