संसद् बैठकपछि मात्र कांग्रेसले सत्ता समीकरणबारे निर्णय लिने
नेपाली कांग्रेसले प्रतिनिधि सभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।
सहमहामन्त्री महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन। अहिले पनि नेकपा एउटै छ। नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरूको पार्टी भोलि कसरी अघि बढ्छ, एकै रहन्छ वा अर्को परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन।”
कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्नमा उनले अहिले त्यसको कुनै अर्थ नरहेको जबाफ दिए।
सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो। नेकपा एउटै भएकाले अहिले कसलाई समर्थन गर्ने वा कसलाई नगर्ने भन्ने निष्कर्षमा पुग्न नहुने कांग्रेस पदाधिकारीहरूको भनाइ थियो।
नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई भेटेर सत्ता साझेदारी गर्न प्रस्ताव गरेका थिए। त्यही प्रस्तावपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो।