आज फेरि मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै
मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज फेरि पानी भर्न थालेर परीक्षण गरिने भएको छ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो। आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न थालिने भएको छ।
खानेपानी मन्त्री मणिचन्द्र थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए। गत असारमै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो, तर हेलम्बु गाउँपालिका–१ अम्बाथानको अडिटको मुख्य गेट नं. १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोग अन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो। “विशेषज्ञहरूले निरीक्षण गर्नुभयो, उहाँका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ,” आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए। परीक्षणका क्रममा हेलिकाेप्टरलाई तयारी अवस्थामा राखिएको छ। उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालहरूसँग समन्वय गरिएको छ।
कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ। शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए। (रासस)